Logo

तनहुँ १ र बारा २ मा पनि वैशाख १० मै उपनिर्वाचन हुने

                     
Logo 2023-03-20 05:03     Desk

13

तनहुँ १ र बारा २ मा आगामी वैशाख १० मै उपनिर्वाचन हुने भएको छ ।  सोमबार निर्वाचन आयोगले तनहुँ १ र बारा २ मा पनि २०८० साल वैशाख १० मै उपनिर्वाचन गराउने निर्णय गरेको हो ।

४ मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा तनहुँ १ बाट रामचन्द्र पौडेल र बारा २ बाट निर्वाचित जसपाका रामसहायप्रसाद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । तर, फागुन २५ मा तनहुँ १ बाट निर्वाचित सांसद पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित सांसद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि यी दुई क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

नेपालको संविधानको धारा ६२ को उपधारा (६) र धारा ६७ को उपधारा (३) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्थाबमोजिम उपनिर्वाचन हुन लागेको हो ।

२०७९ चैत १६ गते उपनिर्वाचन प्रयोजनको निम्ति आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन, चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

यी दुई क्षेत्रमा उपनिर्वाचन प्रयोजनका लागि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई चैत ८ गतेदेखि चैत १२ गतेसम्म नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दफा ४८ र ४९ बमोजिम राजनीतिक दल दर्ता गर्ने समय उपलब्ध गराउने गरी दल दर्ताको सूचना जारी गर्ने  निर्णय पनि आयोगका उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । आयोगका अनुसार यी दुवै क्षेत्रमा वैशाख १० गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

यसअघि निर्वाचन आयोगले नागरिकता विवादसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद पद गुमाएपछि चितवन २ मा वैशाख १० मा उपनिर्वाचन गर्ने निर्णय गरेको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?