Logo

अमेरिकासँग युद्ध लड्न भन्दै १४ लाख उत्तर कोरियाली युवाले सेनामा दिए आवेदन

                     
Logo 2023-03-20 05:03     Desk

13

उत्तर कोरियाका १४ लाख युवाले सेनामा भर्ती हुन आवेदन दिएका छन् । अमेरिकासँग युद्ध लड्न भन्दै उनीहरूले आइतबार आवदेन दिएको रोयटर्सले जनाएको छ ।

उत्तर कोरियाको सरकारी टेलिभिजन केआरटीले सोमबार भिडियोहरू सार्वजनिक गर्दै त्यहाँका युवाहरू अमेरिका र दक्षिण कोरियाको आक्रामक गतिविधिका कारण रुष्ट भएको जनाएको छ ।

शनिबार मात्र उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । पछिल्लो एक हप्ताको अन्तरालमा उत्तर कोरियाको यो पाँचौँ मिसाइल परीक्षण थियो ।

उत्तरको सरकारी टेलिभिजन केआरटीका अनुसार सो क्षेप्यास्त्र परीक्षणका क्रममा किमले आफ्ना सेनालाई हरेक समय अणविक हमलाका लागि तयार हुन पनि निर्देशन दिएका छन् ।

शनिबारको क्षेप्यास्त्र परीक्षण दक्षिण कोरिया र अमेरिकामाथिको आक्रमणको नक्कल भएको पनि केआरटी टेलिभिजनले जनाएको छ । उक्त क्षेप्यास्त्रमा नक्कली आणविक वारहेड जडान थियो, यसको अर्थ उनीहरू आणविक आक्रमणको अभ्यास पनि गरिरहेका छन् ।

आइतबार नै उत्तर कोरियाका लाखौँ युवाहरू अमेरिकाविरुद्ध युद्ध लड्न तयार भएको र उनीहरूले सेनामा भार्ती हुनका लागि आवेदन दिएको समाचार सार्वजनिक भएको हो ।

अमेरिका र दक्षिण कोरियाले संयुक्त रूपमा युद्धाभ्यास गरिरहँदा उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणका कार्यक्रमलाई तीव्रता दिएको हो ।

उत्तर कोरियाको क्षेप्यास्त्र कार्यक्रमबाट त्रास उत्पन्न भएको बताउँदै अमेरिका र दक्षिण कोरियाले मार्च १३ देखि युद्ध अभ्यास गरिरहेका छन् । यो युद्ध अभ्यास २३ तारिखसम्म चल्नेछ । उत्तर कोरियाले भने आफूमाथिको आक्रमण योजनाअनुसार अमेरिका र दक्षिण कोरियाले युद्ध अभ्यास गरिरहेको बताउँछ ।

सन् २०२२ मा मात्र उत्तर कोरियाले ९० वटा क्षेप्यास्त्र परीक्षण गरेको थियो । अमेरिकाको आक्रामकतालाई सन्तुलनमा राख्न उत्तर कोरियाले मिसाइल परीक्षण गर्ने गरेको बताउने गर्छ ।


लोकप्रिय छुटाउनुभयो कि ?