Logo

विज्ञापन बजार विस्तार हुनुपर्छ : प्रमुख निर्वाचन आयुक्त

                     
Logo 2022-12-04 01:12     Desk

13

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामुदायिक रेडियोहरुको भविष्य सुनिश्चित गर्नका लागि विज्ञापन बजार बिस्तार हुनुपर्ने बताएका छन् । आइतबार नेपाल एफ. एम. नेटवर्कको १९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सामुदायिक रेडियोहरुको वृद्धि सँगसँगै विज्ञापन बजारको पनि बिस्तार हुनुपर्ने बताएका हुन् ।

उनले विज्ञापनको दृष्टिकोणबाट सामुदायिक रेडियोलाई हेर्दा अवस्था भयावह देखिएको बताए । उनले हालको अवस्थामा रेडियोलाई टिकाउनका लागि २०० प्रतिशतसम्म विज्ञापन वृद्धि हुनुपर्ने बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले सामुदायिक रेडियोहरु मर्जरमा नगएमा भविष्य नै अन्योलमा रहेको समेत उनले उल्लेख गरे । उनले गाउँ गाउँमा रेडियो पुगेको भएपनि रेडियोले उत्पादन गर्ने विषयवस्तु भने एउटै हुने गरेको बताए ।

उनले भने– ‘हामीलाई के लाग्यो भने यो रेडियोको विषयमा आमसञ्चार माध्यमको विषयमा फरक ढंगले सोच्नुपर्छ भन्ने लाग्यो । हामीले त्यतिखेर यो संविधान जारी हुनासाथ आमसञ्चार नीति बनायौँ । त्यो आमसञ्चार नीतिभित्र अब कहीँ आमसञ्चार माध्यमलाई मर्जरमा जानुपर्छ कि भनेर केही संकेत ग¥यौँ । म तपाईहरुलाई मर्जरतिरै जानुस् त भन्दिनँ । त्यसो भनेन भने तपाईहरु टिक्नुहुन्छ कि टिक्नु हुँदैन भन्ने डर छ । यो दुई वटाको विषयमा उपयुक्त तालमेल र व्यवस्थापन गर्ने प्रक्रिया खोज्नुपर्छ भन्ने मलाई लाग्छ ।’

उनले थप भने– ‘अध्ययनले के देखायो भने रेडियोहरु स्थानगत रुपमा साह्रै विकेन्द्रित पाइए । तर कन्टेन्टका हिसावले यत्तिको केन्द्रिकरण कहीँ कतै भेटिँदैन । हामीले बोल्ने ठाउँ चाहीँ गाउँमा पुर्याएछौँ । सुन्नेकुरा चाहीँ जहाँ सुनेपनि एउटै छ । उहीँ काठमाडौंको कुरा मात्रै सुन्नुपर्छ भन्ने अवस्था सिर्जना भइरहेछ यसलाई चिर्न जरुरी छ भन्ने मलाई लाग्छ । विज्ञापनको दृष्टिकोणबाट हेर्दा त यस्तो भयावह तस्बिर देखियो कि अहिले भइरहेको विज्ञापन जति छ त्यसको २०० प्रतिशत वृद्धि नभएसम्म यि रेडियो र आम सञ्चार माध्यमहरु सस्टेन गर्दैनन् भनेर भन्छ । विज्ञापन बजार खुम्चिदै गएको । हाम्रा संख्याहरु बढ्दै गएको । अनि मर्ज नगरेर कहाँ गर्नु भनेर बीचको बाटोबाट कुरा गर्न खोजेको हुँ । निजी क्षेत्र, सार्वजनिक क्षेत्रको विज्ञापनले अहिलेको यो क्षेत्रलाई धान्नसकिने अवस्था छैन । यद्यपि हामीले क्लिनफिड नीतिबाट केही न केही त झन्डै पाँच अर्बको व्यवसाय नेपाल भित्रबाट गर्ने नीति त बनायौँ । तर त्यसले पनि धान्नसक्ने देखिएन ।’

उनले रेडियोहरु झुकाव र लगावका कारण समस्यामा परेको बताए । रेडियोहरु कुनै लगावबाट मुक्त भएर स्वतन्त्र हुनुपर्ने उनको भनाई छ । थपलियाले कुनै झुकावमा नलागिकन सञ्चार माध्यमको स्वायत्तता र स्वतन्त्रताको निम्ति सामुदायिक रेडियोहरुलाई निर्दिष्ट गर्न सुझावसमेत दिए ।

उनले भने– ‘हामीले अध्ययन गर्दा तपाईहरु सबैले आम सञ्चारमाध्यम विशेष गरेर रेडियोहरु विशेष गरेर तीनवटा शब्दहरु तपाईहरुले प्रयोग गरेको म सम्झन्छु । अभाव, दबाब र प्रभावका कारणले हामी प्रताडित छौँ । समस्याग्रस्त छौँ । हाम्रो अध्ययनले त्यतिमात्रै भनेन । अभाव, प्रभाव र दबाब त हुँदै हो । त्यो भन्दा पनि बढी अहिले झुकाव, तपाईको स्वभाव र तपाईको लगावले हाम्रा आम सञ्चारमाध्यमहरू रेडियो, पत्रपत्रिकाहरु अप्ठ्यारोमा परेका छन् देखियो । तीनवटालाई त समाधान गर्ने अर्को बाटो खोजौला । यो तीनवटा त तपाईले नै गर्ने त हो नि । तपाईको लगावबाट तपाई मुक्त भएर स्वतन्त्र भइदिनु् । तपाईको झुकावलाई कहीँ, कतै नलगिकन मात्रै सञ्चार माध्यमको स्वायत्तता र स्वतन्त्रतापट्टि निर्दिष्ट गरिदिनुस् । तपाईको स्वभाव र शैली आफैँले बदल्ने हो । हामीले आफूभित्रको समस्यालाई कसरी समाधान गर्ने भन्ने कुरा गम्भीरतापूर्वक हेर्न जरुरी छ ।’

उनले सञ्चारमाध्यमले उत्पादन गर्ने विषयवस्तुहरुलाई स्वनियमनको विषय बनाउनुपर्नेमा जोड दिए । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई सफल गराउनको निम्ति सञ्चार माध्यमको पनि उल्लेख्य भूमिका रहेको भन्दै प्रशंसा गरे ।


लोकप्रिय छुटाउनुभयो कि ?