Logo

लघुवित्त आतंककाे प्रभाव शेयरबजारमा

                     
Logo 2023-02-22 03:02     Desk

13

एकपछि अर्को लघुवित्त समस्याग्रस्त बनेसँगै यसको असर धितोपत्रको दोस्रो बजारमा देखिन थालेको छ । लघुवित्तहरू कर्जा उठाउन नसकी धमाधम समस्याग्रस्त बनेको सूचना फैलिएसँगै दोस्रो बजारमा लघुवित्त कम्पनीहरूको शेयरमूल्यमा गिरावट आउन थालेको हो ।

शेयर लगानीकर्ताको लगानीको प्रमुख विन्दु बन्दै आएको लघुवित्त समूहकाे शेयर केही दिनदेखि निरन्तर बिक्रीमा देखिएकाे छ । लघुवित्त समूहको शेयर किन्न लाग्ने लगानीकर्ताको भिड यतिबेला बेच्ने भिडमा परिणत हुँदा त्यसको असर शेयरमूल्यमा परेको हो ।

बुधबार लगानीका लागि आकर्षक मानिँदै आएका जीवन विकास,आदर्श, महिला, नेस्डोलगायत लघुवित्तमा पनि लघुवित्त आतंकले असर गर्दा लगानीकर्ता प्रिमियम भनिएका कम्पनीको शेयर पनि बेच्न हतारिरहेका देखिन्छन् । जसले गर्दा आज लघुवित्त समूहको सूचकसँगै शेयरमूल्यमा पनि भारी मात्रामा गिरावट आइरहेकाे छ । बजार बन्द हुने समयसम्म सूचक सुधारिएन भने साेमबारकै जस्ताे लघुवित्त समूहले ठूलाे मात्रा शेयरमूल्य गुमाउने देखिन्छ ।

धमाधम लघुवित्तका ऋणीहरू ऋण तिर्न नसकेर भाग्न थालेपछि लघुवित्तहरू समस्याग्रस्त बन्न थालेका छन् । गाउँगाँउमा लघुवित्त आतंक फैलिन थालेपछि राष्ट्र बैंकले ऋण प्रवाहमा लघुवित्तलाई कडाइ गर्ने गृहकार्य सुरु गरेसँगै शेयरबजारमा यो क्षेत्रलाई लिएर शंका उपशंका उब्जिन थालेको छ । समस्याग्रस्त बन्ने समाचारले त्रसित लगानीकर्ता लघुवित्तमा भएको शेयर धमाधम बिक्री गर्ने मनसायमा पुगेका हुन् । जसको असर गएकाे ४ काराेबार दिनकाे बजारमा देखिएकाे छ ।

साेमबार नै आत‌ंकित बनेका लघुवित्तका लगानीकर्ताले २४ करोड रुपैयाँको कारोबार गरेका थिए भने साे दिनभर किन्नेभन्दा बेच्ने लगानीकर्ताकाे भिड बढी थियाे । लगातार शेयरमूल्य घटेपछि लगानीकर्ता संयमित नबन्दा त्यसले बुधबारकाे बजारमा पनि निरन्तरता पाइरहेकाे छ । बुधबार याे समाचार तयार पार्दासम्म ५२ कम्पनीमध्ये ३८ कम्पनीकाे शेयरमूल्य घटिसकेकाे छ भने अधिका‌ंश लगानिकर्ताले बजारमा बिक्री चाप बढाइरहेका छन् ।

यतिबेलासम्म आदर्श लघुवित्तकाे शेयरमूल्यमा नकारात्मक सर्किट लागिसकेकाे छ भने किसान र जीवन विकास लघुवित्त सर्किटकै लयमा देखिएका छन् । लगानिकर्ताले जीवन विकास, किसान र आदर्श लघुवित्तमा बिक्रीचाप बढाउँदा यसकाे मूल्य अन्यकाे तुलनामा धेरैले घट्न पुगेकाे हाे ।


लोकप्रिय छुटाउनुभयो कि ?