Logo

समयमै विद्यालयमा पाठ्यपुस्तक पुग्ने व्यवस्था मिलाउन संसदीय समितिको निर्देशन

                     
Logo 2023-01-23 05:01     Desk

13

संसदीय समितिले आगामी शैक्षिकसत्रमा समयमै सबै विद्यालयहरूले पाठ्यपुस्तक पाउनेगरी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद् राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको सोमबार सिंहदरवारमा बसेको बैठकले आगामी शैक्षिकसत्रका लागि पाठ्यपुस्तक उपलब्ध हुने कुराको सुनिश्चित गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

सम्बन्धित मन्त्रालय र मातहतका निकायहरूसँग गहन छलफल गरी समयमा विद्यालयहरूले पाठ्यपुस्तक पाउने कुराको सुनिश्चित गर्न सरकारलाई निर्देश गरिएको समितिका सभापति प्रकाश पन्थले जानकारी दिए । उनले भने, ‘सम्बन्धित निकायसँग गहन छलफल गरियो । र, आगामी शैक्षिक सत्रमा सबै विद्यार्थीहरूले समयमै पाठ्यपुस्तक पाउने कुराको सुनिश्चित गर्नका लागि हामीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री  माननीय शिशिर खनालज्यू, मन्त्रालय र सम्वद्ध निकायलाई निर्देशन जारी गरेका छौँ ।’

बैठकमा विश्व निकेतन माध्यामिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले आगामी शैक्षिकसत्रबाट समयमै पाठ्यपुस्तक उपलब्ध हुने व्यवस्था गर्न सरकारसँग माग गरे । उनले गत वर्ष कक्षा १० को स्वास्थ्य, जनसंख्या र वातावरण तथा कक्षा ८ को नैतिक शिक्षा असोजसम्म पनि नपाएको उल्लेख गर्दै अव त्यस्तो नहोस् भन्ने कुरामा सम्बन्धित निकायलाई ध्यान दिनुपर्ने बताए । प्राधानाध्यापक कँडेलले कागजको अभाव देखाएर आगामी शैक्षिक सत्रमा पनि पाठ्यपुस्तकको समयमै उपलब्धता गराउन नसक्ने अवस्थाको तत्काल अन्त्य हुने गरी कागज खरिदका लागि जीटुजी विधि अपनाउँदा उपयुक्त हुने सुझावसमेत दिए ।

यता, जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले समयमै पाठ्यपुस्तक विद्यालयहरूलाई उपलब्ध गराउने गरी आफूहरूले काम गरिरहेको बताए । उनले त्यसका लागि कागजको समेत अभाव नहुने गरी व्यवस्थापन भइरहेको समितिलाई जानकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?