
कैलाली । १८ दिन देखि बेपत्ता भएका डडेल्धुराको आलीताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको शव फेला परेको छ । प्रहरीले शङ्कास्पद स्थल उत्खनन गरेर बालकको शव निकालेको हो ।
बोहरा १२ पुसदेखि घरपरिवारको सम्पर्कमा थिएनन् । उनको परिवारले समेत उनी हराएको प्रहरीलाई जानकारी दिएका थिएनन्। पुस २७ गते स्थानीयले प्रहरीलाई बालक सम्पर्कमा नरहेको बताएका थिए ।
स्थानीयको भनाइपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रहरीले केही स्थानीयसँग सोधपुछ गर्दा उनको हत्या भएको हुन सक्ने अनुमान गरेका थिए ।
प्रहरीले सोही अनुसार अनुसन्धान गरेर शंकास्पदस्थलको उत्खनन गर्दा बालकको शव फेला परेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक निरीक्षक गङ्गादत्त बडूले जानकारी दिए ।
बालकका बुबा रोजगारीका लागि घर बाहिर छन्। घरमा आमा, सौतेनी आमा र एक जना उनका दाइ छन्। घर परिवारबाटै उनको हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले दुवै आमालाई पक्राउ गरेको छ ।