Logo

बाँकेमा दादुराको प्रकोप राेक्न विद्यालय बन्द

                     
Logo 2023-01-12 12:01     Desk

13

दादुराको प्रकोप रोकथाम तथा नियन्त्रणका लागि नेपालगञ्ज उपमहानगरपालिकाले दुई दिन विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले सूचना जरी गर्दै पुस २८ र २९ गते विद्यालय बन्द गर्ने निर्णय भएकाे जनाएको हो ।

विज्ञहरूका अनुसार दादुराको संक्रमण भएको ७ देखि १४ दिनसम्ममा लक्षण देखिने गर्छन् । जसका कारण परिवार कल्याण महाशाखाले उपमहानगरपालिकालाई विद्यालय बन्द गर्ने हकमा १४ दिन बन्द गर्न सल्लाह दिएको थियो । सोही अनुरुप दादुराको रोकथाम तथा नियन्त्रणका लागि विद्यालय बन्द गर्न लागिएको उपमहानगपालिकाका प्रमुख प्रशान्त विष्टले बताए ।

उनले भने, ‘संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दुई दिन बिदा दिने भनेका छौँ। बिहीबार र शुक्रबार दुई दिन बिदा हुन्छ । शनिबार, आइतबार र सोमबार सार्बजनिक बिदा हुने भएका कारण १४ दिन पुग्ने हिसाबले विद्यालय बन्द गर्न थालेका हाैँ ।’

बाँकेमा बुधबारसम्म ११५ जनामा दादुराको संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये ६२ जना उपचाररत छन् भने ५८ जना होम आइशाेलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । हालसम्म दादुराका कारण एक जनाको मृत्यु भइसकेको छ । त्यस्तै दादुरा नियन्त्रणका लागि बाँकेमा ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई पुस २२ गतेदेखि खोप अभियान संचलान भइरहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालेको तथ्याङ्कअनुसार बुधबारसम्म ७ हजार १६३ जना बालबालिकालाई खोप लगाइएको छ। बाँकेका ९ वटा वडाका १५ वटा खोप केन्द्रबाट खोप सञ्चालन भइरहेको प्रमुख विष्टले बताए । उनले भने, ‘प्रभावित वडा र त्यस वरपरका वडाहरूमा खोप लगाइरहेका छौँ। र बिस्तारै अन्य वडाहरूमा लगाउन सुरु गर्ने योजना बनाएका छौँ ।’ प्रमुख विष्टका अनुसार विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आएपछि खोप लगाउनेहरूको संख्या बढ्न थालेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?