Logo

सत्ता साझेदार दलहरूको बैठक बस्दै, मन्त्रालय भागवन्डामा सहमतिको प्रयास

                     
Logo 2023-01-12 11:01     Desk

13

सत्ता साझेदार दलहरूको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।

आजको बैठकमा मन्त्रालय भागबन्डाको विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार ​१२ राजनीतिक दल र स्वतन्त्र गरी २६८ जना सांसदको विश्वासको मत पाएका थिए । उनलाई नेमकिपा र राष्ट्रिय जनमोर्चाका गरी दुईजना सांसदले मात्रै विश्वासको मत दिएनन् । अहिले सत्ता साझेदारमा भने सात दल छन् । प्रधानमन्त्री प्रचण्डले तिनै ७ दलबाटै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

सत्ता साझेदारको बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डले बुधबार बेलुकी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डको अहिले आठ सदस्यीय मन्त्रिमण्डल छ । उनले माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, एमालेका विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र  पार्टीका रवि लामिछानेलाई उपप्रधानमन्त्री बनाएका छन् ।

एमालेका ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र जनमत पार्टीका अब्दुल खानले भने मन्त्रालयको जिम्मेवारी पाउन बाँकी छ । उनीहरूले प्रधानमन्त्री प्रचण्डसँगै ११ पुसमै पद तथा गोपनीयताको शपथ लिएका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?