Logo

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

                     
Logo 2023-01-10 08:01     Desk

13

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌मा विश्वासको मत पाएका छन् । मंगलबार संसद बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका हुन् ।  राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले भने विपक्षमा मतदान गरे ।

ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरा सभामुखको भूमिकामा रहेकाले मतदानमा सहभागी भएनन् । कांग्रेसका सांसदहरू किशोरसिंह राठौर, अम्बिका बस्नेत र मनोरमा शेरचन भने बैठकमा अनुपस्थित भए । कांग्रेसकै अर्का सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन् ।

प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, नेकपा एस, जनमत, नागरिक उन्मुक्ति, लोसपा र तीन जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् ।

१० पुसमा माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र दुई स्वतन्त्र सांसदको समर्थनमा संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मंगलबार प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् ।


लोकप्रिय छुटाउनुभयो कि ?