Logo

सर्वोच्च बार चुनावः बिहान ८ बजेदेखि मतदान सुरु, दिउँसाे ३ बजेपछि मतगणना

                     
Logo 2023-01-07 10:01     Desk

13

सर्वोच्च बार एसाेसिएसनको ३४औँ कार्यसमिति चयनका लागि मतदान भइरहेकाे छ । प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलका अनुसार बिहान ८ बजेदेखि सुरु भएकाे मतदान कार्य दिउँसो ३ बजे सकिने छ ।

लगत्तै मतगणना थालिने छ । चुनावमा सत्तापक्ष र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगतरूपमा प्रतिस्पर्धा हुने छ । बृहत् लोकतान्त्रिक र प्रगतिशील, पेसागत तथा गणतान्त्रिक समूह चुनावी मैदानमा छन् ।

५ पदाधिकारी र १० सदस्य गरी १५ जनाको नयाँ पदाधिकारीका लागि भएको निर्वाचनबाट विजयीको कार्यकाल दुई वर्ष हुनेछ । सर्वोच्च बारमा छ सय २१ मतदाता छन् ।

बृहत् लोकतान्त्रिक समूहबाट वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला र प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।

एक उपाध्यक्ष पदका लागि लोकतान्त्रिकबाट जगदीशप्रसाद पाण्डे र प्रगतिशीलबाट रामकृष्ण काफ्लेकाे उम्मेदवारी  परेकाे छ । यसैगरी, सचिवमा लोकतान्त्रिकबाट कल्याण पोखरेल र प्रगतिशीलबाट श्यामकुमार खत्रीबीच प्रतिस्पर्धा हुने छ । सहसचिवमा लोकतान्त्रिकबाट सुजन लोप्चन र प्रगतिशीलबाट सङ्गीना शाक्य प्रतिस्पर्धीका रूपमा छन् ।

एक कोषाध्यक्ष पदका लागि लोकतान्त्रिकबाट रामचन्द्र पौडेल र प्रगतिशीलबाट कपिलचन्द्र पोखरेलले उम्मेदवारी दिएका छन् भने एक महिला सदस्यका लागि लोकतान्त्रिकबाट कमला रोका गिरी र प्रगतिशीलबाट सिर्जना कँडेलबीच प्रतिस्पर्धा हुने छ ।

सदस्यमा लोकतान्त्रिक समूहबाट इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, उत्तमराज पाठक, भीमप्रसाद ढकाल, रुपनारायण श्रेष्ठ, रेशमराज रेग्मी, रामबहादुर राउत, सुमनकुमार केसी र बद्रीराज भट्ट छन् । प्रगतिशीलबाट विवेककुमार पौडेल, प्रभुजी पन्त, विनोदकुमार श्रेष्ठ, वीरेन्द्र महर्जन, प्रभाकर श्रेष्ठ, अनुपराज उप्रेती र रमेशराज शर्मा सिग्देलले प्रतिस्पर्धा गर्नेछन् ।


लोकप्रिय छुटाउनुभयो कि ?