Logo

सुदूरपश्चिममा विद्युत् आपूर्ति सुधार गर्न पूर्वाधार विस्तार गर्दै प्राधिकरण

                     
Logo 2022-12-05 02:12     Desk

13

नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा विद्युत् खपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणाली सञ्जाल विस्तार गर्ने भएको छ ।

प्राधिकरणले तत्कालको समस्या समाधान गर्न हाल सञ्चालनमा रहेका प्रसारण र वितरण प्रणालीका संरचनाको सुदृढीकरण र विस्तार गर्ने छ । दीर्घकालीन समस्या समाधान गर्न उच्च क्षमताका प्रसारण लाइनको निर्माण गरिने छ । गर्मीको समयमा कैलालीको अत्तरिया, टीकापुर धनगढी, कञ्चनपुरको महेन्द्रनगरलगायत सहरी क्षेत्रमा न्यून भोल्टेज, ट्रिपिङलगायतको समस्या रहेको उपभोक्ताको गुनासो आउने गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायत सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार त्यस क्षेत्रको स्थलगत अनुगमन भ्रमण गरी विद्युत आपूर्ति सुधारका लागि गर्र्नुपर्ने कामका विषयमा जानकारी लिएको छ ।

टोलीले नगरपालिका प्रमुख एवं उद्योग वाणिज्य सङ्घका प्रतिनिधिसँग छलफल गरेको थियो । टोलीले प्राधिकरणका सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा वितरण केन्द्र प्रमुखहरूसँग छलफल गरी गर्मी सुरु हुनुभन्दा पहिले नै विद्युत् आपूर्ति सुधारका सम्पूर्ण कार्य सम्पन्न गर्न र त्यसका लागि आवश्यक पर्ने बजेट तत्काल पेश गर्न निर्देशन दिएको छ । साथै सुदूरपश्चिमका जिल्लाको विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी सोहीअनुसार काम गर्न निर्देशन दिएको छ ।

कार्यकारी निर्देशक घिसिङले कैलाली र कञ्चनपुर क्षेत्रको विद्युत् आपूर्तिको समस्यालाई समाधान गर्न तत्काल र दीर्घकालीन रुपमा गर्नु पर्ने कामका लागि टोली नै बनाएर अध्ययन भइरहेको बताए । “३३ केभी लाइन क्षमताभन्दा बढी चलाउनुपरेका कारण खासगरी गर्मी मौसममा भोल्टेज, ओभरलोडलगायत समस्या छ, त्यसको समाधानका लागि कैलालीको अत्तरिया सवस्टेसनबाट दक्षिण क्षेत्र हुँदै एक सय ३२ केभी लाइन र धनगढी आसपासमा एक सय ३२ केभी सवस्टेसन निर्माण तत्काल सुरु गर्न लागेका छौँ । कञ्चनपुरको पुनर्बास र बेलौरीलाई पनि एक सय ३२ केभी लाइनबाट जोड्ने छौँ, सो लाइन केन्द्रमा आएपछि भोल्टेज, ट्रिपिङलगायतका समस्या हुँदैन”, घिसिङले भने ।

हाल कालीगण्डकीको बिजुली लामो प्रसारण लाइनबाट यस क्षेत्रमा आपूर्तिका लागि ल्याउनुपर्ने बाध्यात्मक अवस्थाका कारण पनि समस्या आएको हो । यस वर्ष नै बझाङ, दार्चुलामा निर्माण भएका जलविद्युत् आयोजनाको करिब एक सय मेगावाट विद्युत् अत्तरिया सवस्टेसनमार्फत यस क्षेत्रमा वितरण गर्न सकिने हुँदा भोल्टेजको समस्या धेरै समाधान हुने विश्वास छ । उनले कर्णाली, सेती र महाकाली नदी जलााधार क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि चार सय केभीका प्रसारण लाइन निर्माण हुन लागेको बताए ।

लमही–छिन्चु, छिन्चु दोदोधारा, दोदोधार–नयाँ अत्तरिया (दैजी) चार सय केभी प्रसारण लाइन अध्ययनको क्रममा रहेका छन् । लमही, मातीपुर छिन्चु र नयाँ अत्तरियामा ४००/१३२ सबस्टेसन निर्माण गरिने छ । प्राधिकरण टोलीले प्रस्तावित प्रसारण लाइनको रुट तथा सवस्टेसन निर्माण गरि ठाउँ, सञ्चालित सवस्टेसन, निर्माणाधीन आयोजननाहरुको पनि अनुगमन गरेको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?