Logo

विराटनगरबाट सञ्चालित नेपाल टाईम्सका सञ्चालक अब्दुल खत्ताब विरुद्ध मुद्धा, एमाले नेता एवम् व्यवसायी राठीलाई अपहरण गरी रकम अशुलेको आरोप

                     
Logo 2022-12-04 07:12     Desk

13

विराटनगर, १८ मंसिर । विराटनगरबाट सञ्चालित नेपाल टाईम्स अनलाईनका सञ्चालक अब्दुल खत्ताबविरुद्ध अपहरण तथा शरिर बन्धक मुद्धामा जाहेरी परेको छ ।

सोही मिडियाको साझेदार समेत रहेका अरुणकुमार राठीले शैहेन्सा भनिने खत्ताबविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दाको जाहेरी दिएका हुन् ।

राठी विराटनगरका प्रतिष्ठीत उद्योगी, व्यवसायीका साथै नेकपा (एमाले) का युवा नेता समेत हुन् । उनी सो पार्टीको प्रदेशसभा सदस्यका उम्मेदवार समेत हुन् ।

आफुलाई गत मंसिर १४ गते विहान साढे ६ बजदेखि साढे १० बजेसम्म नेपाल टाईम्सको पुरानो कार्यालयमा सञ्चालक खत्ताब र उनको समुहले अपहरण गरि शरिर बन्धक बनाई हातपात गर्दै धाक धम्कि दिएर रकम समेत अशुल गरेको राठीले आरोप लगाएका छन् ।

आफु प्रदेशसभा सदस्यको समानुपातिक उम्मेदवार रहेकाले सञ्चालक खत्ताबले गत मंसिर १३ गते अन्तरवार्ता तथा समाचार बनाउनुपर्ने भएकाले लिन आउँछु भनि मंसिर १४ गते स्कुटरमा आफुलाई हालेर विराटनगर–६ सरोचियास्थित नेपाल टाईम्सको पुरानो कार्यालयमा लगि शरिर बन्धक बनाएर मोटो रकम अशुल गरेको राठीले दावी गरेका छन् ।

सुरुमा अन्तरवार्ता लिएको र त्यसपछि एक्कासि अपरिचित व्यक्तिलाई बोलाएर आफुलाई सोफामा बाध्न खत्ताबले आदेश दिएपछि आफुले प्रतिवाद गर्दा उनीहरुले कुटपिट गरेको राठीले बताए ।

लगत्तै खत्ताब र उनको समुहले ज्यान मार्ने र अरु अपहरणकारीलाई बुझाई दिने धम्कि दिएपछि आफु डराएर बच्नका लागि उनीहरुलाई आर्थिक प्रलोभन देखाएको बताए । ‘मलाई अरुलाई नबुझाउन अनुनय विनय गरि मलाई छाडेवापत रकम दिने भनेपछि उनीहरुले एक करोड रुपैयाँसम्म बार्गेनिङ गरे ।’ राठीले जाहेरीमा भनेका छन् ।

राठीले तत्काल चेकबाट १५ लाख रुपैयाँ दिएको र पछि थप १५ लाख दिने भनेर आफु उम्किन सफल भएको बताएका छन् । खत्ताबले व्यक्तिगत नाममा चेक लिँदा फस्ने डरले नेपाल टाईम्सको नाममा १५ लाखको चेक काट्न लगाएको राठीले बताए ।

आफुले चेक दिएपछि खत्ताबले सो कुरा कसैलाई भने जे पनि हुन सक्ने भन्दै धम्क्याएको र केही दिन पछि परिवारका सदस्यहरुलाई सो घटनाको जानकारी गराएपछि नडराई कानुनी उपचारमा जानुपर्ने आत्मबल बढाएपछि जाहेरी दिएको राठीले जानकारी दिए ।

उनले खत्ताबको समुहविरुद्ध अनुसन्धान गरि हदैसम्मको सजायको माग गर्दै जाहेरी दिएका छन् । राठीले आफु र आफ्नो परिवारका सदस्यहरुको जिउ, ज्यान र सम्पत्तिको सुरक्षाका लागि समेत माग गरेका छन् ।

मोरङ प्रहरीका प्रमुख प्रहरी उपरिक्षक शान्तिराज कोइरालाले खत्ताबविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दाको जाहेरी परेको पुष्टि गरे । उनले सो विषयमा अनुसन्धान भइरहेको हाम्रो विराटनगरलाई जानकारी दिए । ‘जाहेरी परेको छ । अहिले अनुसन्धान भइरहेको छ ।’ उनले हाम्रो विराटनगरसँग भने ।


लोकप्रिय छुटाउनुभयो कि ?