Logo

लिग कपको साविक विजेता लिभरपुलले सिटीसँग प्रतिस्पर्धा गर्ने

                     
Logo 2022-11-11 11:11     Desk

13

काठमाडौं । लिग कपको साविक विजेता लिभरपुलले प्रतियोगिताको चौथो चरणमा प्रिमियर लिगको विजेता म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

बिहीबार राति भएको ‘ड्र’अनुसार लिभरपुलले तुलनात्मक रूपमा कठिन प्रतिद्वन्द्वी पाएको हो । लिभरपुल जारी सिजन प्रिमियर लिगमा संघर्ष गरिरहेको छ ।

लिग कपमा पनि लिभरपुलले दोस्रो श्रेणी लिगको क्लब डर्बी काउन्टीलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै चौथो चरणमा स्थान बनाएको हो । लिभरपुलले निर्धारित समय गोलरहित बराबरी खेलेको थियो ।

पछिल्ला पाँचमध्ये चार लिग कपको उपाधि जितेको सिटीले तेस्रो चरणमा चेल्सीलाई २–० ले हराउँदै चौथो चरणमा स्थान पक्का गरेको छ ।

जारी सिजन प्रिमियर लिगमा सिटीले एक खेल मात्र हारेको छ । त्यो लिभरपुलसँग थियो । सिटी लिभरपुलसँग १–० ले पराजित भएको थियो ।

बिहीबार ओल्ड ट्राफोर्डमा एस्टन भिल्लालाई ४–२ ले हराउन सफल म्यानचेस्टर युनाइटेडले चौथो चरणमा दोस्रो श्रेणीको क्लब बर्नलीविरुद्ध खेल्नेछ ।

न्युक्यासल युनाइटेडले चौथो चरणमा बोर्नमाउथसँग प्रतिस्पर्धा गर्नेछ । साउथह्याम्पटनले लिनकोल सिटीविरुद्ध खेल्नेछ । लेस्टर सिटीले मिल्टन केन्स डोन्सविरुद्ध खेल्नेछ । ब्राइटनले चार्लटन एथलेटिकविरुद्ध खेल्नेछ । नटिङ्घम फरेस्टले ब्ल्याकबर्नविरुद्ध खेल्नेछ । उल्भरह्याम्पटनले जिलिङघमसँग प्रतिस्पर्धा गर्नेछ ।

लिग कपका खेल कतार विश्वकपको फाइनलपछि डिसेम्बर १९ देखि सुरु हुनेछ ।


लोकप्रिय छुटाउनुभयो कि ?