Logo

सन्दीपका वकिलले अदालतमा पेस गरे पीडित नाबालिग नभएको प्रमाण

                     
Logo 2022-11-02 04:11     Desk

13

बलात्कार मुद्दा खेपिरहेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेका वकिलले पीडित नाबालिग नभएको प्रमाण अदालतमा पेस गरेका छन् । जिल्ला अदालत काठमाडौंमा पीडित र पीडक दुवैको बयान सकिएपछि दुबैतर्फका कानुन व्यवसायीले बहस गरिरहेका छन् । बुधबार सन्दीपका तर्फबाट दुई जनाले बहस गरेका छन् ।

बहसका क्रममा उनका कानुन व्यवसायी मुरारी सपाकोटाले पीडित नाबालिग नभएको प्रमाण इजलास समक्ष पेस गरेका छन् । ती किशोरीको जन्म २०६१ साल असार १८ गते भएको जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि इजलासमा पेस गरिएको हो । यस्तै सन्दीपका तर्फबाट बहस गरेकी अर्की कानुन व्यवसायी रोशनी घिमिरेले सन्दीपलाई धरौटीमा छाडेर मुद्दा पुर्पक्ष गर्नुपर्ने माग गरेकी छन् ।

उता पीडित युवतीका तर्फबाट ४ जना सरकारी वकिलले बहस गरेका छन् । यस्तै ३ जना विभिन्न महिलाअधिकारवादी संघसंस्थाका कानुन व्यवसायीले पनि बहस गरेका छन् । थुनछेक बहस बुधबार पनि सकिने सम्भावना कम रहेको छ । थुनछेक बहस सकिएपछि सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने आदेश हुनेछ ।


लोकप्रिय छुटाउनुभयो कि ?