Logo

निर्वाचन आयोगले एमाले सचिव भट्टराईलाई सोध्यो स्पष्टीकरण

                     
Logo 2022-11-02 02:11     Desk

13

निर्वाचन आयोगले नेकपा एमालेका सचिव तथा ताप्लेजुङका प्रतिनिधिसभा उम्मेदवार योगेश भट्टराईलाई स्पष्टीकरण सोधेको छ ।

२५ जनाभन्दा बढी साथमा लिएर घरदैलो कार्यक्रम गरेको भन्दै निर्वाचन आयोगले भट्टराईलाई स्पष्टीकरण सोधेको हो । एमालेका सचिव भट्टराईले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको सिरजङ्घा गाउँपालिका–३ सिकैचामा आचारसंहिताको उल्लङ्घन हुने गरी २५ जनाभन्दा बढीको भेला गरेको र उक्त विषय आफ्नो फेसबुक पेजबाटसमेत सार्वजनिक भएको उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

तपाईंले निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गरी निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको अवस्थामा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम कारबाही किन हुनु नपर्ने हो ? भन्दै २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालयमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न आयोगले भनेको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ख) मा 'स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिकस्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने' र खण्ड (ण) मा 'निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जना भन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुने' व्यवस्था छ ।


लोकप्रिय छुटाउनुभयो कि ?