Logo

महिला प्रहरीलाई जबर्जस्ती गर्न खोज्ने इन्सपेक्टर जेल चलान

                     
Logo 2022-11-02 11:11     Desk

13

सांकेतिक तस्वीर

धादिङ । आफ्नै कार्यालयमा कार्यरत महिला प्रहरीलाई बलात्कार प्रयास गरेको अभियोगमा नेपाल प्रहरीका इन्सपेक्टर अपूर्व ढुंगाना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत धादिङले उनलाई मंगलबार थुनामा पठाउने आदेश दिएको हो ।

इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यालय प्रमुखका रूपमा कार्यरत रहेका बेला उनले आफ्नै कार्यालयमा कार्यरत एक महिला प्रहरीमाथि बलात्कार प्रयास गरेको आरोप लागेको थियो ।

पीडित महिला प्रहरीको उजुरीका आधारमा गत १५ असोजमा जिल्ला प्रहरी कार्यालय, धादिङले उनलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि न्यायिक हिरासतमा राखेको थियो । मदिरा सेवन गरेर मध्यराति महिला ब्यारेकमा पसेर बलात्कारको प्रयास गरेको पीडितको उजुरीमा उल्लेख छ ।

ढुंगानाविरुद्ध जबरजस्तीकरणी उद्योग मुद्दा दायर भएकोमा जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको एकल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो । अदालतको आदेशअनुसार उनलाई मंगलबार नै कारागार पठाइएको जिप्रका धादिङका डीएसपी श्याम खत्रीले बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?