Logo

देशभर सुपथ मूल्य पसलको व्यवस्था मिलाउन सरकारलाई संसदीय समितिको निर्देशन

                     
Logo 2022-09-20 05:09     Desk

13

संसदीय समितिले दसैँ, तिहार, छठजस्ता पर्वहरूका लागि देशभर सुपथ मूल्य पसलहरूको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले दसैँ, तिहारजस्ता चाडपर्वको बेला बजार अनुगमनको कामलाई थप प्रभावकारी बनाउन र सुपथ मूल्य पसलको आवश्यक व्यवस्था देशभर मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य विभागलाई निर्देशन दिइएको समितिका सभापति प्रकाश पन्थले जानकारी दिए ।

‘दसैँ, तिहार, छठजस्ता चाडपर्वका बेला थप जनशक्तिहरू उपलब्ध गराएर, प्रविधिहरूलाई पनि जुटाएर बजार अनुगमन गर्ने कुराहरूलाई थप प्रभावकारी बनाउनु पर्दछ । त्यसै  गरी सुपथ मूल्यका पसलहरूको पनि कुराहरू उठेका छन्,’ पन्थले भने, ‘त्यसलाई चुस्तदुरुस्त र थप प्रभावकारी बनाउन सकिन्छ । यी तमाम विषयहरूमा आवश्यक व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालय र विभागलाई समिति निर्देशन दिन्छ ।’

बैठकले दसैँका लागि घर जाने यात्रुहरूको लागि सहज ढंगले टिकट पाउने गरी काउन्टरहरूको आवश्यक व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ । ‘बस काउन्टरहरूको आवश्यक व्यवस्था मिलाउन, बसको भाडादरलाई व्यवस्थित बनाउन पनि सरकारलाई समिति निर्देश गर्दछ,’ पन्थले भने ।

समितिले सवारीसाधनको भाडादर जथाभावी लिन नपाउने गरी अनुगमनको काममा कडाइ गर्न पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई भनेको छ । शान्ति, सुरक्षाको आवश्यक व्यवस्था मिलाउन पनि गृह मन्त्रालयलाई निर्देश गरिएको पन्थले बताए ।

बैठकमा समितिका सदस्यहरूले चाडबाडको बेला दुर्घटना हुन नदिने गरी ट्राफिक प्रहरी परिचालन गर्न सरकारलाई सचेत गराएका थिए । सांसद एवम् पूर्वगृहमन्त्री बामदेव गौतमले शान्ति सुरक्षा र सवारी दुर्घटना हुनै नदिने गरी राजमार्गहरूमा प्रहरी परिचालन गर्न सरकारको ध्यानाकर्षण गराए ।

 


लोकप्रिय छुटाउनुभयो कि ?