Logo

जापनिज इन्सेफ्लाइटिस पुष्टि भएकी महिलाकाे खाेजी हुँदै थियाे, मृत्यु भइसकेछ

                     
Logo 2022-09-19 12:09     Desk

13

चितवनमा जापनिज इन्सेफ्लाइटिसका कारण थप एक जनाको मृत्यु भएको छ भने एक जना सङ्क्रमित थपिएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ की ५२ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । ती महिलालाई सङ्क्रमितको सूचीमा रहेपछि खोजीका क्रममा यसअघि नै मृत्यु भएको ढिला गरी थाहा भएको हो ।

स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाईंका अनुसार योसँगै जिल्लामा जापनिज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यसअघि मृत्यु हुनेमा माडी नगरपालिका–१ चैनपुरकी ६० वर्षीया वृद्धा रहेकी थिइन् । चापागाईंका अनुसार हालसम्म जिल्लामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएका १० मध्ये दुई जनाको मृत्यु भएको हो ।

पछिल्लो बिरामीको बारेमा सोधपुछ गर्दै जाँदा उनको भदौको ३ गतेनै मृत्यु भएको जानकारी शनिबार प्राप्त भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ती बिरामीको नमुना भरतपुरको नारायणी सामुदायिक अस्पतालबाट पठाइएको उल्लेख छ । अस्पतालको रेकर्डमा भने ती बिरामीको नाम नभएको कार्यालय प्रमुख चापागाईंले बताए । थप विवरणका लागि भरतपुर महानगरपालिकाको स्वास्थ्य महाशाखालाई भनिएको उनले जानकारी दिए । विस्तृत विवरण महानगरमार्फत आउने उनको भनाइ छ ।

उनका अनुसार सङ्क्रमित एक जना थपिएका छन् । पछिल्लो थपिएका सङ्क्रमित माडीका हुन् । माडी नगरपालिका वडा नम्बर ४ का ७४ वर्षीय वृद्धमा सङ्क्रमण देखिएको हो । बिरामीको बारेमा थप विवरणका लागि माडी नगरपालिकाको स्वास्थ्य शाखालाई भनिएको छ ।

सन् २०२१ मा जिल्लामा यो सङ्ख्या एक जना रहेको थियो । सन् २०२० मा एक जना थियो भने सन् २०१९ मा जिल्लामा यो सङ्ख्या शून्य रहेको थियो । सन् २०१८ मा एक जनामा सङ्क्रमण देखिएको थियो । चापागाईंले भने, 'सम्भवत जिल्लामा यसरी महामारीको रूपमा बढेको पहिलो हो ।'

सन् २०१८ मा देखिएका बिरामी १५ वर्षमुनिका हुन् भने त्यस पछिका सबै १५ वर्षभन्दा माथिका हुन् । विश्व स्वास्थ्य सङ्गठनले एउटा जापानिज इन्सेफ्लाइटिसको बिरामी देखिँदै गर्दा तीन सय बिरामी लुकेको अवस्थामा हुने प्रक्षेपण गरेको हुन्छ । यसलाई हेर्दा चितवनमा तीन हजारमा सङ्क्रमण हुनसक्ने भन्दै सतर्कता अपनाइएको चापागाईंको भनाइ छ ।

सुँगुर प्रजाति र हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेमा रोग सर्ने गर्दछ । मानिसबाट मानिसमा यो रोग सर्दैन । अहिले जिल्लामा ग्रामीण क्षेत्रमा यो रोग बढी देखिएको छ । यो रोग लागेका बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता आउने, बेसुरको हुने, कहिलेकाहीँ बेहोस हुने, छारे रोगको झै शरीरमा कम्पन आउने उनले जानकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?