Logo

संविधानले नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा बाँधेको छ :राष्ट्रपति

                     
Logo 2022-09-19 12:09     Desk

13

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा शुभकामना व्यक्त गर्दै भण्डारीले मुलुकमा लोकतान्त्रिक प्रणालीको जग बसाल्न पथ प्रदर्शन गर्ने सबै अग्रजप्रति सम्मान जनाइन् ।

‘नेपाली जनताको दशकौँ लामो संघर्ष र बलिदानको फलस्वरूप २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्न आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ’, सन्देशमा भनिएको छ, ‘वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सीर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ ।’

संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकारको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्नेमा राष्ट्रपतिको जोड छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण गर्न मुलुकको राष्ट्रिय एकता, अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरि राख्न आवश्यक रहेको राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ ।

राष्ट्रपति भण्डारीले संविधान जारी भएपश्चात् हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो निर्वाचनमा सक्रियतापूर्वक सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न सबै मतदातामा अपिल पनि गरेकी छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?