Logo

३३ अंकले घट्यो नेप्से

                     
Logo 2022-09-18 04:09     Desk

13

नेपाल स्टक एक्सचेन्ज ३३.९७ अंकले घटेको छ । निरन्तर ओरालो लाग्दै आएको शेयर बजारमा आइतबारबाट बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपको ब्याजदर बढाएपछि थप असर पारेको हो ।

शुक्रबार नै बैंकर्स संघले बैंक तथा वित्तीय संस्थाहरूले आफू अनुकूल ब्याजदर राख्न पाउने व्यवस्था निर्णय गरेपछि बैंकहरूले १५ प्रतिशतसम्म ब्याजदर बढाएका छन् । जसले गर्दा बजारमा थप प्यानिक सेल बढ्न पुग्यो ।

ब्याजदर र शेयर बजार विपरीत बिन्दुमा रहने हुनाले पनि यसपटक बजारको घटाइमा ब्याजदर वृद्धिले असर पारेको हो । नेप्से घटेर १८७६.४१ को बिन्दुमा पुग्दा सेन्सेटिभ परिसूचक पनि ६.०४ अंकले घटेर ३६५.८६ अंकमा ओर्लिएको छ । कारोबार भने आज २ सय २९ कम्पनीको ६२ लाख कित्ता शेयर १ अर्ब ६० करोडमा भएको छ ।

शुक्रबार वियरिस क्याण्डेल बनेपछि आइतबारको बजारमा खरिद चाप पर्ने अनुमान गरिएको थियो । यद्यपि आइतबार पनि बजारमा बिक्री चाप देखिँदा अनुमान गरेअनुसार नेप्से बढ्न सकेन । अर्थतन्त्रबारे नकारात्मक समाचार संप्रेषण भइरहँदा पनि लगानीकर्तामा शेयर बजारबारे मनोवैज्ञानिक त्रास फैलिँदै गएको छ । फलत लगानीकर्ताले किन्नभन्दा बढी बेच्नमा जोड दिइरहेको जानकारहरू बताउँछन् ।

आज बजारमा किन्नेभन्दा बेच्ने लगानीकर्ताको संख्या बढी थियो । जसले गर्दा कारोबारमा आएका १ सय ८० कम्पनीको शेयरमूल्य घट्दा ८ कम्पनीको मात्रै शेयर मूल्य बढ्न पुग्यो । बढ्नेमा नेपाल ल्युब आयल लिमिटेड, आर्दश लघुवित्तलगायतका कम्पनी १ प्रतिशतमाथिले मूल्य बढाउँदै अग्रस्थानमा छन् । घट्नेमा भने बलेफी हाइड्रो र राप्ती हाइड्रो अगाडि छन् । यी कम्पनीको ७ प्रतिशतभन्दा धेरैले शेयर मूल्य घटेको हो ।

बजारमा निरन्तरको गिरावटले अधिकांश कम्पनीको मूल्य न्यूनतम बिन्दुमा पुगेको छ । झण्डै डेढ वर्षअघि १० हजार प्रतिकित्ता पर्ने साल्ट ट्रेडिङ कम्पनीको शेयर प्रतिकित्ता ३ हजारमा आइपुगेको छ भने वाणिज्य बैंकहरू २ सय रुपैयाँ प्रतिकित्ताको दरमा मूल्य आइपुगिसकेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?