Logo

बैंकको व्याजदर घटाउन विराटनगरका उद्योगीको माग

                     
Logo 2022-09-17 12:09     Desk

13

विराटनगर, १ असोज । बैंकहरुको बढ्दो व्याजदर घटाउन विराटनगरका उद्योगीले माग गरेका छन् । विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरुले व्याज दर घटाउन माग गरेका हुन् । मोरङ व्यापार संघले पत्रकार सम्मेलन गर्दै विद्यमान बढ्दो बैंक व्याजदर, महंगी र नजिकिँदो चाडपर्वमा समेत सुस्त रहेको स्थानीय बजारको स्थिति प्रति ध्यानकर्षण भएको बताएको छ ।

विगत केहि महिनादेखि चर्किंदै गएको बैंक व्याजदर, तरलता अभाव तथा आयातमा गरिएका कडाईले औद्योगिक÷व्यवसायिक आर्थिक चक्र नराम्ररी प्रभावित भएको र लगानी योग्य पूँजीको अभावमा उद्योग÷व्यवसायहरु आ–आफ्ना क्षमता अनुरुप कार्य गर्न असमर्थ हुँदै गएको दुरावस्था देखा परेको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए ।

उनले विगत ६ महिना मै एकल अंकको बैंक व्याजदर दोब्बर हुन गएको छ भने छोटो अवधि मै भद्र सहमति भंग गर्दै बैंकहरुले आफूखुशी ४ प्रतिशतसम्म स्पे्रड दर कायम गरेको बताए । उनले सोही कारण कोभिड महामारी पश्चात् विस्तारै लयमा फर्कदै गरेको अर्थतन्त्रलाई पुनः उच्च बैंक व्याजदरको धक्का लागेको गुनासो गरे ।

एकातिर बैंकहरुले करोडौँको नाफा कमाइरहेको र अर्कोतर्फ उद्योग÷व्यवसाय र उपभोक्ताहरुको नाजुक अवस्था प्रति सरकार र राष्ट्र बैंकले खासै चासो नदिनाले उद्योगी÷व्यवसायीहरु हतोत्साहित भएको उनको भनाई छ ।

यसै बीच नेपाल राष्ट्र बैंकले हाल जारी गरेको चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ का केही प्रावधानहरु समेत औद्योगिक÷व्यवसायीक वातावरणका लागि प्रतिकूल रहन गई प्रत्यक्ष प्रभाव पर्ने भएकाले त्यसलाई तत्कालै सुधार गर्न तथा चालू पूँजी कर्जालाई पारदर्शी एवं एकरुपता कायम गर्न समेत राष्ट्र बैंकलाई सुझावहरु पत्राचार गरेको बताए ।

उद्योगीहरुले एकल अंकको व्याजदर कायम गर्नु पर्ने , औद्योगिक /व्यवसायिक प्रयोजनका कर्जाको व्याजदर फरक गरिनु पर्ने , संस्थागत व्याज दर कम गरिनु पर्ने लगायतका माग निरन्तर गर्दै आएका छन्।

उद्योगीहरुले सरकार, बैंकहरूको नियामक निकाय नेपाल राष्ट्र बैंक र सम्बन्धित निकायहरूलाई मुलुकको विद्यमान अवस्थाप्रति गम्भीर भई नेपाली उद्यमी, व्यवसायी र उपभोक्ताहरूको हक , हित एवं सुरक्षार्थ आ आफ्नो स्तरबाट जिम्मेवारीपूर्वक तत्काल ठोस कदम चाल्न माग गरेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?