Logo

खेलकुदले मानिसलाई अनुशासित बनाउँछः मेयर कोइराला

                     
Logo 2022-09-15 08:09     Desk

13

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले खेलकुदले मानिसलाई अनुशासित बनाउने बताएका छन् ।नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय भारतोलन छनौट प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले खेलकुदमा जस्तो अनुशासन अन्य क्षेत्रमा नहुने तर्क प्रस्तुत गरे ।

उनले खेलाडीबाट अन्य क्षेत्रमा आबद्ध व्यक्तिहरूले अनुशासन सिक्नुपर्ने धारणा राखे । “खेलकुदले मानिसलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्छ भनिन्छ,” मेयर कोइरालाले भने, “त्यससँगै व्यक्तिलाई अनुशासित बनाउँछ खेलकुदले ।”

खेलाडीका कारण नेपालको नाम विश्वमै चिनाएको उनले बताए । उनले विराटनगरमा पनि थुप्रै राष्ट्रियस्तरका खेलाडीहरू भएको चर्चा गरे । उनले खेलकुदको विकासका लागि महानगरपालिकाले सक्दो सहयो गर्ने उल्लेख गरे ।

उद्घाटन समारोहमा भारतोलन संघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठ, सहसचिव धु्रव प्रधानलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । छनौट प्रतियोगितामा प्रदेशभरिबाट ३२ जना खेलाडी सहभागी भएका छन् । राष्ट्रिय प्रतियोगिताका लागि १० जना पुरुष र १० जना महिला खेलाडी छनौट हुने भारतोलन छनौट प्रतियोगिताका संयोजक विमल पोखरेलले जानकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?