Logo

मनमोहनमा चौवीस महिने औद्योगिक प्रशिक्षण शुरु

                     
Logo 2022-09-15 07:09     Desk

13

विराटनगर, ३० भदौ । विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालय र सामाजिक विकास मन्त्रालय प्रदेश एकको सहकार्यमा २४ महिने औद्योगिक प्रशिक्षण विहीवार शुरु भएको छ ।

मनमोहन स्मृति पोलिटेक्निकको प्रशिक्षणहलमा शुरु प्रशिक्षण कार्यक्रमको उद्घाटन उद्योग संगठन मोरङका कार्यकारी निर्देशक चुडामिण भट्टराइले गर्नुभयो । उद्घाटन मन्तव्य राख्तै भट्टराईले यस्ता प्रशिक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न भएको प्रयासका रुपम आफूले बुझेको बताउदै उद्योग संगठनको तर्फबाट पनि आवश्यक सहयोग हुने धारणा व्यक्त गर्नुभयो ।

निःशुल्क रुपमा आयोजित यस प्रशिक्षणमा प्रशिक्षकले साडे तीन महिना शैद्धान्तिक र साडे उन्नाइस महिना प्रयोगात्मक अभ्यास गर्नुपर्ने जनाइएको छ । शैद्धान्तिक कक्षा मनमोहन प्राविधिक विश्वविद्यालयका प्राविधिकहरुबाट र प्रयोगात्मक अभ्यास स्थानीय उद्योगहरुमा गर्ने व्यवस्था मिलाइएको बताइएको छ ।

इच्छुक युवाहरुलाई प्राविधिक रुपमा विषयगत दक्षता हासिल गराइ आत्मनिर्भर बनाउनुका साथै औद्योगिक क्षेत्रमा खड्किएको प्राविधिक जनशक्तिको अभावलाई परिपूर्ति गर्ने ध्येयका साथ आयोजित सो प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा इन्स्योर प्रोटेक्टका तर्फबाट सञ्जिव राईले प्रशिक्षार्थीहरुले पालना गर्नुपर्ने नियमहरुसहित कार्यक्रमकोबारेमा विस्तृत जानकारी गराउनुभएको थियो ।

अहिले सातवटा प्राविधिक विषयमा प्रदेश एकका १० वटा प्राविधिक स्कूलहरुमा यस्ता तालिमहरु उपलव्ध गराउने व्यवस्था रहेको राईले जानकारी दिनुभयो ।

प्रशिक्षार्थीहरुले अनुशासित रुपमा मेहनतपूर्वक अभ्यास गरी दक्ष हुन सुझाव दिँदै प्रगति अटोमोवाइल्सका प्रतिनिधि प्रदिप निरौलाले अभ्यासका लागि आफ्नो उद्योग सहयोग गर्ने बताउनुभयो । अहिले पनि नेपाली उद्योगहरुमा दक्ष प्राविधिकहरुको अभाव रहेको उल्लेख गर्दै उहाँले देश बाहिरबाट आवश्यक जनशक्ति ल्याउनुपर्ने वाध्यता कायमै रहेको बताउनुभयो ।

अफ्नै देशमा विषयगत जनशक्ति उत्पादन गर्नसक्ने हो भने व्यक्ति र उद्योगलाईमात्र होइन, देशलाई नै फाइदा हुने भएको धारणा राख्तै आफ्नो उद्योगमा अभ्यासका लागि पठाइएको युवाहरुलाई उपयुक्त पारिश्रमिक सहित काममा लगाउन तयार रहेको निरौलाले बताउनुभयो ।

यस अघि पनि मनमोहनबाट प्राविधिक अभ्यासका लागि आफ्नो उद्योगमा पठाइका जनशक्तिहरुलाई अन्य कर्मचारी सरह पारिश्रमिक सहित अभ्यास गराइरहेको बताउँदै सेन्चुरी मसला उद्योगका प्रतिनिधि राम क्षेत्रीले उत्पादित जनशक्तिले काम गर्न चाहेमा प्रशिक्षण पछि पनि आफ्नै उद्योगमा राख्ने बताउनुभयो ।

उहाँले मनमोहन स्मृति पोलिटेक्निक र मनमोहन प्राविधिक विश्वविद्यालयले प्राविधिक जनशक्ति उत्पादनका लागि गरेको प्रयास प्रशंसनीय भएको बताउनुभयो । उहाँले यो प्रशिक्षणका प्रशिक्षार्थीहरु पनि आफ्नो उद्योगमा अभ्यासका लागि पठाउन सुझाव दिनुभयो ।

औद्योगिक क्षेत्रमा आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ सञ्चालन शुरु गरिएको प्रशिक्षणमा ६० जना युवाहरु सहभागी भएको मनमोहन स्मृति पोलिटेक्निकका कार्यकारी निर्देशक मदनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्राविधिक क्षेत्रको औपचारिक अध्यापन गराउँदै आएको पोलिटेक्निकले विगतदेखि नै अल्पकालीन तथा दीर्घकालीन प्रकृतिका विभिन्न प्राविधिक तालिमहरु उपलव्ध गराउँदै आएको बताउँदै उहाँले अहिले शुरु भएको प्रशिक्षण मेकानिकल तथा अटोमोवाइल सम्वन्धी भएको जानकारी दिनुभयो ।

यसरी नयाँ प्रशिक्षार्थीहरुलाई उद्योगले लिँदा शुरु शुरुमा धेरै लगानी लाग्ने भएपनि कालन्तरमा सहयोग पुग्ने भएकाले पारिश्रमिक दिएर पनि उद्योगहरुले प्रशिक्षार्थी लिने गरेको बताइएको छ ।

निःशुल्क तालिममा आयोजकका तर्फबाट प्रशिक्षार्थीहरुलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकको २५ प्रतिशत तलम र दैनिक खाजाभत्ता वापत एकसय रुपियाँ समेत उपलव्ध गराइने व्यवस्था रहेको मनमोहन प्राविधिक विश्वविद्यालयका लेखा अधिकृत सुजन भुर्तेलले जानकारी दिनुभयो ।

मनमोहन स्मृति पोलिटेक्निकका कार्यकारी निर्देशक मदन श्रेष्ठको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा पोलिटेक्निककै अधिकृत प्रकृति भट्टराईले प्रशिक्षण आयोजनका विषयमा संक्षिप्त जानकारी दिँदै सहभागी तथा अतिथिहरुको स्वागत गर्नुभएको थियो । कार्यक्रम सञ्चालन लेखा अधिकृत सुजन भूर्तेलले गर्नुभएको थियो ।

 


लोकप्रिय छुटाउनुभयो कि ?