Logo

विराटनगरका ठुला उद्योगीलेनै तिर्दैनन् बिजुलीको बिलः राजकुमार गोल्छाद्वारा सञ्चालित रघुपति जुटमिलको १९ करोड बढी बक्यौता, कसको कति बाँकी ? (सूचीसहित)

                     
Logo 2022-08-25 06:08     Desk

13

विराटनगर, ९ भदौ । विराटनगरका ठुला र प्रतिष्ठीत उद्योगीहरुलेनै बिजुलीको बिल लामो समयदेखि नतिर्ने गरेको पाइएको छ । प्रतिष्ठीत उद्योगीदेखि विभिन्न व्यक्ति र संस्थाले लामो समयदेखि बिजुलीको बिल नतिरेको पाइएको हो ।

नेपालकै प्रतिष्ठीत औद्योगिक घराना गोल्छा अर्गनाइजेसनका राजकुमार गोल्छा सञ्चालक रहेको रघुपति जुट मिलले मात्र १९ करोड बढी बिजुलीको बिल तिर्न बाँकी देखिएको छ ।

नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका लेखा अधिकृत यामकर्ण बस्नेतले रघुपति जुटमिलले १९ करोड १५ लाख ६५ हजार ६ सय २८ रुपैयाँ तिर्न बाँकी रहेको जानकारी दिए ।

उनका अनुसार रघुपति जुटमिलले डेडिकेटेड फिडर सेवा प्रयोग वापतको उक्त रकम हालसम्म तिरेको छैन । पछिल्लो समय नियमित बिल तिरेपनि अगाडीको तिर्न बाँकी रहेको बस्नेतले बताए ।

सो विषयमा हाम्रो विराटनगरले बुझ्न खोज्दा गोल्छाले कुनै प्रतिकृया दिन मानेनन् । हाम्रो विराटनगरले गोल्छासँग पटक–पटक सम्पर्क गर्न खोजेपछि उनि पन्छिए । ‘भरे भोली कुरा गरौँला, अहिले म बिजी छु । पछि सम्पर्क गर्नुस् ।’ उनले हाम्रो विराटनगरसँग भने ।

रघुपति जुट मिलले मात्र नभएर धेरै व्यक्ति, उद्योग र अस्पताल र विभिन्न संघ संस्थाले प्राधिकरणलाई बिजुली उपभोग गरेवातको शुल्क तिर्न बाँकी देखिएको छ ।

विराटनगरकै अर्का प्रतिष्ठीत उद्योगी मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुण्दडाको बाबा जुट मिलले पनि करोडौ तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । मुण्दडाको जुट मिलले प्राधिकरणलाई ५ करोड ११ लाख १७ हजार ४ सय ७१ रुपैयाँ तिर्न बाँकी देखिएको छ । यद्यपी मुण्दडाले प्राधिकरणविरुद्ध मुद्धा दर्ता दायर गरेका छन् । सो मुद्धा विचाराधिन अवस्थामा छ ।

त्यस्तै विराटनगर जुट मिलले एक करोड १० लाख ६९ हजार एक सय २० रुपैयाँ, सञ्जेस कोइरालाले २४ लाख ७८ हजार ९ सय ७३, रेल तथा मेट्रो विकास आयोजना भेडियारीले १६ लाख ४४ हजार २ सय ६३ रुपैयाँ तिर्न बाँकी रहेको लेखा अधिकृत बस्नेतले जानकारी दिए ।

त्यस्तै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकारससमेत रहेका मोति दुगड सञ्चालक रहेको नेशनल पोलिमर्सको १६ लाख ६ हजार पाँच सय ८ रुपैयाँ बक्यौता रहेकोमा सो रकम तिरिसकेको लेखा अधिकृत बस्नेतले बताए ।

त्यस्तै गरिव दास यादवको १० लाख १६ हजार चार सय ७८, जिल्ला प्रहरी कार्यालय मोरङको ८ लाख ६० हजार २ सय ५२, निप्पोन फार्मेसिटिकल्स प्रालिको ६ लाख ४३ हजार ७ सय ९५, कुनै समयको चर्चित हिमालय हलको ६ लाख २३ हजार ५ सय ६४, शुभद्रा घिमिरेको ५ लाख ३९ हजार ८० र सञ्जीवनी अस्पतालको ५ लाख २४ हजार ७ सय ४४ बक्यौता रहेको प्राधिकरण विराटनगर वितरण केन्द्रले जनाएको छ ।

त्यसैगरी जिल्ला खेलकुद विकास समिति मोरङले ५ लाख १९ हजार ७ सय ४२, महेन्द्र चोकस्थित म्याक्स इन्टरनेशनल अस्पता प्रालिले ५ लाख ३ हजार ९ सय ८८, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रले ४ लाख ४७ हजार ६ सय १, संगीता कुमारी चौधरीले ३ लाख ९२ हजार ९४, नेपाल एप्रल्स प्रालिले ३ लाख ८५ हजार ७ सय ९, उमेश रौनियारले ३ लाख ४४ हजार ५ सय ८९, प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले ३ लाख ३४ हजार २ सय ७० र श्रीपाइप इन्डस्ट्रीजले ३ लाख १५ हजार ४ सय ३८ रुपैयाँ प्राधिकरणलाई तिर्न बाँकी रहेको लेखा अधिकृत बस्नेतले जानकारी दिए ।

 


लोकप्रिय छुटाउनुभयो कि ?