
भारतले गहुँ र चिनीको निर्यातमा रोक लगाएपछि नेपाली बजारमा समस्या देखिएको छ । यसै सन्दर्भमा नेपाली उद्योगी व्यवसायीले चिनी र गहुँको आयात गर्ने वातावरण बनाउन सकरलाई र भारतीय दूतावासलाई अनुरोध गरेकोमा नेपालीको हकमा अहिलेको निर्यात प्रतिबन्ध लागू नहुने भारतीय पक्षले बताएकाे हाे ।
भारतले यस्ताे बताएपछि सरकारले निर्वेदन लिएर आयात खुलाउने वातावरण तय गर्न थालेको हो । नेपालका व्यवसायीले भारतबाट गहुँ र चिनी आयात गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा निवेदन दिन आग्रह गरिएको छ ।
भारत सरकारले गहुँको निर्यातमा प्रतिबन्ध लगाएको र चिनीका लागि विशेष अनुमति चाहिने व्यवस्था गरेपछि सरकारले भारतलाई अनुरोध गर्न पहिले उद्योगी व्यवसायीको निवेदन माग गरेको हो ।
भारत सरकारको पछिल्लो व्यवस्था अनुसार नेपालका व्यवसायीले सिधै आयात गर्न नपाउने भएकाले सरकारी तहबाट आयातको व्यवस्थापन गर्नुपर्ने भएकाले आवेदन आह्वान गरिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै गहुँ र चिनी आयात गर्न चाहने व्यवसायीले साउन २८ गतेसम्म आवेदन दिन आग्रह गरेको छ ।