Logo

सप्तकोसीमा पानीको बहावमा उतारचढाव, ब्यारेजका ५६ मध्ये ४१ ढोका खोलिए

                     
Logo 2022-08-04 11:08     Desk

13

सप्तकोसी नदीमा पानीको बहावमा उतारचढाव हुने क्रम जारी छ । गए राति कोसी ब्यारेज भएर प्रतिसेकेन्ड २ लाख ४२ हजार ९ सय ६५ क्युसेकका दरले पानीको बहाव रहेको थियो ।

आज बिहान ६ बजे २ लाख २९ हजार ३ सय ५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । यसैगरी आज बिहान ८ बजेको मापनअनुसार २ लाख २८ हजार २५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको छ ।

कोसी ब्यारेजका ५६ मध्ये अहिले ४१ ढोका खोलिएका छन् । कोसी नदी ओभरफ्लो भई उदयपुरको बेलाका नगरपालिका डुम्रीबोटेको बस्तीतर्फ गएको भए पनि कोसी ब्यारेजबाट पानीको बहाबमा भने उतारचढाव हुने क्रम जारी रहेको प्रजिअ यादवले बताए ।

सप्तकोसीमा पानीको बहावमा भइरहेको उतारचढावका कारणले श्रीलङका टापु, सप्तरीको गोवरगढा, उदयपुरको बेलका नगरपालिकाको डुम्रीबोट र लाखखोचको उत्तरतर्फ जमिन कटान थालेको प्रजिअ यादवले जानकारी दिए । कटान गरेको क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानमा लैजान उद्धार टोली तयारी अवस्थामा छ ।

स्थानीयवासीलाई तयारी अवस्थामा बस्नका लागि समेत सूचना जारी गरिएको प्रजिअ यादवले बताए । कोसीबाट कुनै किसिमको मानवीय क्षति तथा अन्य क्षति हुन नदिनका लागि स्थानीय प्रशासनले अपनाउनुपर्ने सबै सावधानीका उपाय अवलम्बन गरिएको उनले बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?