Logo

नेप्सेमा १ अंकको वृद्धि हुँदा साढे ४ अर्बभन्दा बढीको कारोबार

                     
Logo 2022-08-01 04:08     Desk

13

पछिल्लो समय शेयरबजार स्थिरताको बाटो जान खोजेको देखिन्छ । बजार लगातारको वृद्धिपछि एक/दुई दिन करेक्सनमा जाने अनि स्थिरताको बाटो लाग्ने देखिएको छ ।

सोमबार पनि बजारमा कारोबार खुलेबाटै उतारचढाव भएको बजारले अन्त्यमा १.१५ अंकले मात्र बढेर बन्द हुन पुग्यो । अर्थात् आज २१९६.२५ विन्दुमा नेप्से पुग्दा सेन्सेटिभ परिसूचक पनि ४२१.१४ अंकमा पुगेको छ ।

बजारमा न्यून अंकको बढोत्तरीमा पनि किनबेच गर्ने लगानीकर्ताको भिड भने मनग्य देखिन्थ्यो । जसले गर्दा आज एकै दिन ४ अर्ब ६७ करोड रुपैयाँमा २ सय १७ कम्पनीको १ करोड ५ लाख कित्ता शेयर किनबेच हुन पुग्यो ।

पछिल्लो समय बजारमा देखिएको बढोत्तरीलाई लिएर लगानीकर्तामा बजारले अब उकालो यात्रा गर्ने आशा पलाएको छ । जसले गर्दा ठीक यतिबेला बजार पस्ने लगानीकर्ताको संख्यामा बढोत्तरी हुँदा कारोबार रकम बढ्न थालेको हो ।

न्यून अंकले बढेको बजारमा लगानी गर्ने र निस्कने लगानीकर्ताको संख्या उल्लेख्य देखिँदा कमाउने लगानीकर्ताको संख्या भने मिश्रित देखिन्छ । होटल एण्ड टुरिज्मलगायत ८ समूहका सूचक घटेको र पाँच समूहका सूचक बढ्दा पनि समग्र बजार हरियो बन्न पुगेको छ ।

आजको हरियो बजारबाट ५८ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १ सय १५ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

कमाउनेमा बुटवल पावर कम्पनी, सिटिजन्स म्युचुअल फण्ड र गुडविल फाइनान्स अगाडि छन् । यी तीनैको शेयरमूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको छ । घट्नेमा भने स्वाभिमान लघुवित्त अगाडि छ । यसको ५.२१ प्रतिशतले शेयरमूल्य घटेको छ ।

कारोबारमा शिवम् सिमेन्ट अगाडि छ । यो कम्पनीको आज एकैदिन ३८ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?