Logo

झापाको एक वडा कार्यालयमा कुर्सीका सट्टामा गुन्द्री र पिरा

                     
Logo 2022-08-01 11:08     Desk

13

‘मेरो वडामा प्रधानमन्त्री आउनुभयो भने पनि गुन्द्रीमै बसाउँछु’, यी भनाइ हुन् मेचीनगर नगरपालिका–४ का अध्यक्ष अर्जुनकुमार कार्कीको ।

गत वैशाख ३० गते स्थानीय चुनावबाट उनी वडाध्यक्ष निर्वाचित भएका हुन्। त्यसयता सो वडामा प्रधानमन्त्री आएका छैनन् तर, जे जति उच्च पदस्थ अतिथि वडा कार्यालयमा आइपुगेका छन्, उनीहरू सबैलाई वडाध्यक्ष कार्कीले कुर्सीमा होइन, परालको गुन्द्री र मकैको खोसेलाबाट निर्मित पिरामा बसाउने गरेका छन्।

भारतबाट मेची नदी तरेर सयको सङ्ख्यामा दिनका दिन जङ्गली हात्तीको हुल भित्रिने गौडाको रूपमा मुलुकमै परिचित बाहुनडाँगी क्षेत्रमा कार्की वडाध्यक्ष छन्। बिहानदेखि बेलुकासम्म यहाँका बासिन्दाको तनमन हात्तीबाट कसरी जोगिने भन्ने ध्याउन्नमै हुन्छ। वडावासी शिक्षा, स्वास्थ्य, रोजगारी र किनमेलका लागि टाढा सहरी क्षेत्र काँकडभिट्टा, धुलाबारी, विर्तामोड या भारतको नक्सलबाडी पुग्न बाध्य छन्।

‘वडावासी बिहान खाए बेलुकी के खानु भन्ने अवस्थामा छन्, उच्च शिक्षा पढ्ने एउटा क्याम्पस छैन, मानव–हात्ती द्वन्द्वले जनजीवन आक्रान्त छ’, कुर्सीको साटो गुन्द्री र पिरामा बसेर वडा कार्यालय सञ्चालन गर्दै आएका उनी भन्छन्, ‘जनताको यस्तो हालत रहेको बेला म कसरी बीसौं हजार खर्चेर घुम्ने कुर्सीमा बस्न सक्छु?’

वि.सं २०७९ जेठ १२ गते खोसेलाको पिरामा बसेर वडाध्यक्षमा पद बहाली गर्दा उहाँ समाचारमा भाइरल बनेका थिए। स्थानीयदेखि राष्ट्रिय तहका सञ्चारमाध्यमहरूले ‘कुर्सी हटाएर पिरामा बस्ने अनौठो वडाध्यक्ष’ भनेर चर्चा गरे। कतिपयले ‘सस्तो लोकप्रियताका लागि नटिक्ने ढर्रा’ भन्दै सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी पनि गरे ।

वडाध्यक्षको पदबहालीदेखि अहिलेसम्म वडाध्यक्ष कार्कीले कार्यालयमा कुर्सी प्रयोग गरेका छैनन् । सेवाग्राहीको निवेदनमा तोक लगाउने नियमित कामकाजदेखि वडाको बैठक बस्दासमेत घरेलु गुन्द्री र पिरा छाडेका छैनन्। कार्यालयमा आउने पाहुनालाई पनि उनले गुन्द्री र पिराकै व्यवस्था मिलाउने गरेका छन्।

‘कसैलाई देखाउन मैले ढर्रा गरेको होइन, पाँच वर्षे कार्यकाल गुन्द्री र पिरामै बिताउने सङ्कल्प बोकेर जनताको सेवामा जुटेको छु’, उनले भने, ‘बाहिर आउने गरेका नराम्रा प्रतिक्रियाबाट म हत्तोत्साहित छैन र राम्रा प्रतिक्रियाबाट हौसिएको पनि छैन। म बिलासी जीवन बिताउन वडाध्यक्ष बनेकै होइन । जनताको घरमा चुलो नबल्ने अवस्था छ। म चाहिँ तिनै जनताको तिरोबाट घुम्ने कुर्सी किनेर वाहियात खर्च गर्न चाहन्नँ।’

मानव–हात्ती द्वन्द्व न्यूनीकरण गरेर बाहुनडाँगीलाई कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यमा नमूना गाउँ बनाउने सपना साचेका वडाध्यक्ष कार्की विगत दुई दशकदेखि ग्रामीण पर्यटन र वातावरण संरक्षण क्षेत्रका अभियन्ता हुन्।

वडाध्यक्ष भएपछिको तीन महिनाभित्रै उनको वडामा कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरीराज पौडेल, पूर्वोत्तर भारतका चर्चित पर्यटन अभियन्ता राज बसुलगायतका पाहुना भ्रमणमा आए। साउन ११ गते आएका महावाणिज्यदूत पौडेललाई वडाध्यक्ष कार्कीले गुन्द्रीमै बसाएर शिष्टाचार भेटघाट र पर्यटन प्रवर्द्धनसम्बन्धी छलफल गरे।

त्यसैगरी, खाँदबारी नगरपालिका–४ का वडाध्यक्ष विनोद सुब्बा भगिनी सम्बन्ध स्थापनाका लागि आए। दुबै वडाबीचको भगिनी सम्बन्धको दस्तावेज आदानप्रदान समेत गुन्द्री र पिरामै बसेर गरिएको थियो। मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती वडा कार्यालयको निरीक्षणमा पुग्दा उनलाई वडाध्यक्ष कार्कीले पिरामा बसाउँदै वडावासीका समस्या सुनाए।

गत जेठ २० गते नेपाल भारत सीमाको दशगजा नजिक मेची नदीको किनारमा पत्रकार सम्मेलनको आयोजना गरी वातावरण संरक्षणबारे आफ्ना योजना सुनाए। उक्त पत्रकार सम्मेलनमा समेत वडाध्यक्ष कार्कीले मकैको खोसेलाबाट बनेको पिरामा बसेर पत्रकारको सवालको जवाफ दिएका थिए।

बाहुनडाँगी बजारमा रहेको वडा कार्यालयमा उनले २० वटा पिरा र ६ वटा गुन्द्री राखेका छन्। वडा कार्यालयको अहिलेसम्म भएका डेढ दर्जन बढी बैठक गुन्द्री–पिरामै बसेर गरिएको कार्कीले जानकारी दिए। पिरामा बस्न असजिलो हुने शारीरिक अशक्त र ज्येष्ठ नागरिकका लागि बाँसका मुडाको व्यवस्था गरिएको उनले बताए।

गुन्द्री र पिरा स्थानीय सामानहरू मकैको खोसेला, सुपारीका पात र परालले बनाइएका हुन्छन्। गुन्द्री–पिरा अभियानबाट वडावासी खुसी भएको कार्कीको बुझाइ छ। ‘घरेलु हस्तकला र सीपको सम्मान र प्रवर्द्धनमा यो अभियानले सघाउ पुर्‍याएको छ,’ उनले भने।

ज्येष्ठ नागरिकलाई निःशुल्क वितरणका लागि भगिनी सम्बन्ध स्थापना गरिएको खाँदबारीको वडा नं ४ र तेह्रथुमबाट उनले घुँघुरोका चार सय लौरो मगाएका छन्। वडालाई हराभरा र सुन्दर बनाउन फूल फुल्ने प्रजातिका एक लाख बिरूवा आफ्नो कार्यकालभरिमा हुर्काउने उनको योजना छ।


लोकप्रिय छुटाउनुभयो कि ?