
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली भाषाको एकीकरणमा आदिकवि भानुभक्त आचार्यको योगदान महत्वपूर्ण रहेको बताएका छन्।
भानु वाङ्मय प्रतिष्ठान पोखराद्वारा आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा पोखरेलले आजभन्दा दुई शताब्दी अघिको अँध्यारो युगमा पनि समाज सुधारका लागि साहस गर्ने आदिकविले रामायणका माध्यमबाट भाषाको एकीकरण गर्नुभएको उल्लेख गरेका थिए।
पोखरेलले भने “गण्डकी प्रदेश आफैँमा महत्वपूर्ण प्रदेश हो । भौगोलिक रुपमा एकीकरण गर्ने पृथ्वीनारायण शाह र भाषाको एकीकरण गर्ने भानुभक्तको जन्मस्थान यही गण्डकी प्रदेश रहेको छ । ”
भानु जयन्तीकै अवसरमा गण्डकी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको जनाउँदै पोखरेलले आगामी दिनमा भानु वाङ्मय प्रतिष्ठान जस्ता सङ्घसंस्थासँग सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरेका थिए । भानुभक्त जस्ता व्यक्तित्वहरू जन्मिएको गण्डकी प्रदेशलाई सांस्कृतिक एवम् साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने पोखरेलले बताए।