Logo

देउवा पार्टीको विधानअनुसार नचलेको शेखर समूहको निष्कर्ष

                     
Logo 2022-06-30 08:06     Desk

13

नेपाली कांग्रेसको शेखर समूहको बिहीबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक सुरु भएको केही मिनेटमै सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको सूचना सार्वजनिक भयो ।

सभापति देउवा एकलौटी रुपमा अगाडि बढेको भन्दै डा. कोइरालाले काठमाडौंमा उपलब्ध आफू निकट पार्टी पदाधिकारी, केन्द्रीय सदस्य र प्रभावशाली नेताहरुको बैठक बोलाएका थिए । तर, सभापति देउवाले बिहीबारै केन्द्रीय कार्यसमितिको बैठक बोलाएपछि शेखर समूहको बैठकको उद्देश्य नै परिवर्तन भयो ।

सभापति देउवालाई दबाब दिन रणनीति बनाउने उद्देश्यले आयोजना गरिएको बैठक केन्द्रीय कार्यसमितिको बैठकमा कसरी प्रस्तुत हुने भन्नेमा केन्द्रित बन्यो ।

बैठकको सुरुमा डा. कोइरालाले बैठकको उद्देश्य सुनाए । उनले स्थानीय तहको चुनावी समीक्षा, गठबन्धन, आन्तरिक समस्याका विषयमा रणनीति तय गर्न बैठक बोलाइएको जनाए ।

त्यसपछि बैठको सुरुमै युवा नेता मनोजमणि आचार्यले बोले । उनले बैठकमा सभापति देउवाले महाधिवेशनको म्यान्डेटअनुसार पार्टीका विभाग गठन नगरेको, नीति महाधिवेशनको तयारी नगरेको, भ्रातृ संगठनमा एकलौटी गरेको भन्दै दबाब दिनुपर्ने धारणा राखे ।

बिहीबारको बैकठमा ११ जना नेताहरुले बोले । सबै नेताले बोल्न चाहेपछि बैठक शुक्रबार पनि बस्ने भएको छ । बिहीबार आचार्य, युवराज पाण्डे, डा. चन्द्र भण्डारी, सुवास पोखरेल, रञ्जित कर्ण, डा. चन्द्रमोहन यादव, मुक्ता यादव र डा रामशरण महतले आ–आफ्नो धारणा राखेका थिए ।

बैठकमा सभागी एक नेताका अनुसार आज बोल्ने सबै नेताको साझा भनाइ सभापति देउवा विधानअनुसार नचलेको भन्ने थियो । देउवा विधानअनुसार मात्र नभई केन्द्रीय समितिको बैठकको निर्णयअनुसार पनि नचलेको नेताहरूले बताएका छन् । केन्द्रीय समिति बैठकले डा. शेखरसँग परामर्श गरेर भ्रातृ संगठनको विषय टुंगो लगाउने भनिए पनि देउवाले आफू निकटलाई धमाधम नियुक्त गरेको नेताहरूले बताएका छन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता चन्द्र भण्डारीले बैठकमा देशको आर्थिक, समसामयिक राजनीति, गठबन्धनात्मक विषयहरुमा छलफल गरेको बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?