Logo

नागरिकतासम्बन्धी विधेयक चालु अधिवेशनबाटै पारित हुन्छः कानुनमन्त्री

                     
Logo 2022-06-30 04:06     Desk

13

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले संसदको चालु अधिवेशनमै नागरिकता ऐनसम्बन्धी विधेयक पारित हुने बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) समेत सो विधेयक पारित गर्न सकारात्मक रहेको उनले बताए ।

‘नागरिकता ऐन अहिले सरकारको र प्रमुख प्रतिपक्षको पनि प्रमुख सरोकार र सबै दलहरूको पनि प्रमुख सरोकारको विषय हो । केवल सरकारको मात्रै होइन,’ कोइरालाले भने, ‘यसलाई जसरी पनि यही अधिवेशनमा ब्रेक थ्रू गर्ने गर्ने कुरालाई सरकारले गरिरहेको छ र यसमा प्रमुख प्रतिपक्षी एकदमै सकारात्मक हुनुहुन्छ । म उहाँहरूको त्यो सकारात्मक कुरालाई एप्रिसिएट गर्न चाहन्छु ।’

६४औँ संसद दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नागरिकता ऐनसम्बन्धी विधेयकमा धेरै विवादहरू रहेकाले त्यसलाई विवादरहीत बनाउन सरकारले गृहकार्य गरिरहेको उनको भनाइ थियो ।

राज्य व्यवस्था समितिमा समेत सो विधेयकमा देखिएका विवाद निरुपण नभएको भन्दै मन्त्री कोइरालाले त्यसलाई साझा बनाएर बनाएर अघि बढ्न सरकार लागीपरेको बताए ।

‘तमाम विवादहरू छन्- नागरिक ऐनसम्बन्धी विधेयकमा । राज्य व्यवस्था समितिमा गएर पनि विवादसहितको डकुमेन्ट आएको छ । तर, ती विषयहरूमा पनि सिटिजनसिपजस्तो विषयमा हामीले विवाद गर्नु हुँदैन,’ कोइरालाले भने, ‘त्यसैले साझा धारणा बनाएर यसलाई अघि बढाऔँ भन्ने विषयमा सरकार छ र त्यसमा प्रमुख प्रतिपक्ष सहितका अरु साथीहरू धेरै सकारात्मक हुनुहुन्छ । यो चाँडै आउँछ ।’


लोकप्रिय छुटाउनुभयो कि ?