Logo

विद्युतीय भोटिङ मेसिनको प्रबन्ध गरिदिन सरकारलाई निर्वाचन आयोगको आग्रह

                     
Logo 2022-06-30 04:06     Desk

13

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विद्युतीय मतदानयन्त्र (विद्युतीय भोटिङ मेसिन) को प्रयोगका लागि आवश्यक प्रबन्ध गरिदिन सरकारलाई आग्रह गरेको छ ।

निर्वाचन व्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन निर्वाचनसम्बन्धी कानुनमा भएको व्यवस्थासमेतका आधारमा विद्युतीय मतदानयन्त्रको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न आयोगले गठन गरेको समितिबाट प्राप्त प्रतिवेदनका आधारमा गृह मन्त्रालयमार्फत नेपाल सरकार, मन्त्रिपरिषद्लाई लेखी पठाइएको आयोगले जनाएको छ ।

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार विज्ञप्ति जारी गरी स्वदेशमा निर्मित विद्युतीय मतदानयन्त्र तत्काल व्यवस्थापन हुनसक्ने अवस्था हाल विद्यमान नभएमा आउँदो साउन मसान्तसम्ममा आयोगलाई उपलब्ध हुने गरी अन्य देशमा निर्मित विद्युतीय मतदान यन्त्रको आवश्यक प्रबन्ध गरिदिन आग्रह गरिएको जानकारी दिए ।

आयोगले संविधान तथा संघीय कानुनबमोजिम हुने राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसद्का सदस्य, प्रदेशसभाका सदस्य तथा स्थानीय तहका सदस्यको निर्वाचनमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्न सक्ने कानुनी व्यवस्था रहेको छ ।

२०६४ को संविधानसभा निर्वाचनमा आयोगले छवटा निर्वाचन क्षेत्रमा प्रयोग गरेको साथै २०७१ को संविधानसभा उपनिर्वाचनमा बर्दिया, बागलुङ, काठमाडौं, कैलालीलगायत पाँचवटा निर्वाचन क्षेत्रमा सफलतापूर्वक प्रयोग गरिएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?