
सभामुख अग्निप्रसाद सापकोटाले जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन आफ्नातर्फबाट निरन्तर प्रयास भइरहेको बताएका छन्। सभामुखमा निर्वाचित भएदेखि नै आफू त्यसखालको प्रयासमा लागेको भए पनि केही समय अघिसम्म संसद् अवरोध हुँदा त्यसलाई गतिशील बनाउन नसकिएको सापकोटाको भनाइ थियो ।संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास–पहिलो संसद्देखि सङ्घीय संसद्सम्म’ पुस्तक आज सार्वजनिक गर्दै सभामुख सापकोटाले सङ्घीय संसद् र मातहतका समितिमा जनचासोका विषयमा बढी छलफल होओस् र राष्ट्रका लागि आवश्यक कानुन निर्माणमा बढी तदारुकता आओस् भन्ने पक्षमा आफू रहेको बताएका हुन् ।
महत्वपूर्ण विधेयक शीघ्र पारित गरेर सङ्घीयता कार्यान्वयनका लागि आफूले सबै समितिलाई आग्रह गरेको र केही विधेयक अगाडि बढाउन सम्वद्ध पक्षलाई ध्यानाकर्षण गराइएको समेत सापकोटाले जानकारी गराए । लामो समयदेखि अड्केको नागरिकता विधेयकले निकास नपाउँदा हजारौँ युवाले नागरिकता पाउन नसकेको भन्दै सभामुख सापकोटाले त्यसलाई अगाडि बढाउन आफूले प्रधानमन्त्री र कानुनमन्त्रीलाई समेत आग्रह गरेको छु भने।