काठमाडौं,५ असार । सेयर बजारमा साताको पहिलो कारोबार दिन आज बजार सूचक नेप्से ओरालो लागेको छ । गत साताभरमा निरन्तर ओरालो लाग्दै आएको बजार सूचकको गिरावटको क्रम आइतबार पनि नरोकिएन । आज नेप्से १.८९ प्रतिशत अर्थात ३७.२७ अंकले घटेर १९३४ दशमलव ११ अंकमा आइपुगेको छ । गत साता नेप्से ७७ अंक घटेर १९७१ दशमलव ३८ अंकमा ओर्लिएको थियो ।
कारोबारमा आएका सबै उपसमूहगत सूचक राताम्मे बनेको छ । विकास बैंक, फाइनान्स, अन्य, म्युचुअल फण्ड र जलविद्युतको सूचक ३ प्रतिशतभन्दा बढीले घटेको छ । घटेको बजारमा नेपाल टेलिकमको उच्च कारोबार भएको छ । टेलिकमको १० करोड २९ लाख ८९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आइतबारको बजारमा रिभर फल्स पावरको सेयरमूल्य सर्वाधिक ९.५६ प्रतिशतले घटेर २४६.९० रुपैयाँमा झरेको छ । बलेफी हाइड्रोपावर ८.१९ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंक ७.६८ प्रतिशत, माउन्टेन हाइड्रोपावर नेपाल लिमिटेड ७.३३ प्रतिशत, हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्य र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ७.११ प्रतिशतका दरले ओरालो लागेको छ ।