Logo

चालु आव सकिन २७ दिन बाँकी, पुँजीगत खर्च एक खर्ब ४० अर्ब मात्रै

                     
Logo 2022-06-19 02:06     Desk

13

प्रतीनिधीमुल्क तस्विर

चालु आर्थिक वर्ष सकिन अब २७ दिन बाँकी छ । सरकारले कूल रु तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बराबरको पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो ।

हालसम्मको विवरण हेर्दा मात्रै रु एक खर्ब ४० अर्ब १६ करोड ४५ लाख बराबर मात्रै पुँजीगत खर्च गरिएको छ । प्रतिशतका आधारमा हेर्दा यो ३७ दशमलव शुन्य सात मात्रै हो ।

सरकारले विकास निर्माणको काममा हुने खर्च बढाउने र त्यसका लागि सबै उपाय अवलम्बन गर्ने भने पनि त्यसअनुसार हुन सकेको छैन । अर्थमन्त्री जनार्दन शर्माले मासिक १० प्रतिशत बराबरको खर्च गर्ने घोषणा गरेका थिए।

यद्यपि घोषणाअनुसार काम हुन सकेन । केही दिन पहिले रासससँगको कुराकानीका क्रममा उहाँले आगामी आवमा तोकिएअनुसारको खर्च गराउनका लागि सबै उपाय अवलम्बन गर्ने दृढता व्यक्त गरेका थिए ।

सरकारको खर्चको हिसाब किताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले अपेक्षाकृतरुपमा विकास निर्माणको काममा खर्च गर्न सकेको छैन । यही असार ४ गते शनिबारसम्म सरकारको कूल खर्च ६४.५५ प्रतिशत बराबर भएको छ । त्यसमा चालुतर्फको खर्च सबैभन्दा बढी छ । त्यसका कर्मचारीको तलब भत्ता, दैनिक खर्च जोडिएको हुन्छ ।

चालु खर्च ७७.२ प्रतिशत बराबर भएको छ । त्यो भनेको रु आठ खर्ब २२ अर्ब ४५ करोड ६५ लाख बराबर हो । सरकारले चालु आवमा चालुतर्फ कूल रु १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख बराबर खर्च गर्ने लक्ष्य राखेको थियो ।

यस्तै वित्तीय व्यवस्थातर्फ हालसम्म कूल रु ९१ अर्ब ३७ करोड ६८ लाख बराबर खर्च गरिएको छ । चालु आवमा सरकारले रु एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख बराबरको बजेट वित्तीय व्यवस्थाका लागि छुट्याएको थियो । त्यसमा दातृ निकायलाई तिर्नुपर्ने ऋणको साँवा र ब्याजको हिस्सा रहेको छ ।

सरकारले विभिन्न दातृ निकायसँग लिएको ऋण तिर्ने विभिन्न समयसीमा हुन्छ । सोही आधारमा दायित्व भुक्तानी गर्नुपर्छ । कूल लक्ष्यमध्ये हालसम्म ४८.२४ प्रतिशत बराबरको वित्तीय व्यवस्थातर्फको खर्च भएको छ ।

सरकारले चालु आवमा कूल रु ११ खर्ब ८० अर्ब ६० करोड चार लाख बराबरको राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । त्यसमध्ये हालसम्म रु नौ खर्ब ४८ अर्ब २० करोड ९७ लाख बराबरको राजस्व सङ्कलन गरेको छ । यो कूल लक्ष्यको ८०.२३ प्रतिशत बराबर हो । त्यसमा कर राजस्व रु आठ खर्ब ७८ अर्ब ३३ करोड एक लाख बराबर सङ्कलन भएको छ ।

यसमा भन्सारलगायतका राजस्व समावेश छन् । चालु आवमा कर राजस्वतर्फ रु १० खर्ब ६७ अर्ब ९६ करोड २५ लाख बराबर सङ्कलन गर्ने सरकारको लक्ष्य छ । कूल लक्ष्यमध्ये हालसम्म ८२.२४ प्रतिशत सङ्कलन भएको छ ।

त्यस्तै गैरकरतर्फ रु एक खर्ब १२ अर्ब ६३ करोड ७९ लाख बराबर सङ्कलन गर्ने लक्ष्य राखेकामा हालसम्म रु ६९ अर्ब ८७ करोड ९६ लाख बराबर अर्थात् ६२.०४ प्रतिशत सङ्कलन भएको छ ।

यस्तै अनुदानतर्फ रु ५९ अर्ब ९१ करोड ९९ लाख सङ्कलन गर्ने लक्ष्य राखेकामा रु १३ अर्ब ८८ करोड ३३ लाख बराबर सङ्कलन भएको छ । यो कूल लक्ष्यको २३.१७ प्रतिशत हो ।

चालु आर्थिक वर्षमा राजस्व परिचालन लक्ष्यको हाराहारीमा नै रही रु ११ खर्ब ५२ अर्ब ४२ करोड सङ्कलन हुने अनुमान छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्ष वैदेशिक सहायता तर्फ अनुदान रु २४ अर्ब ८१ करोड र ऋण रु एक खर्ब ७२ अर्ब ८८ करोड परिचालन हुने संशोधित अनुमान छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म रु एक खर्ब ३५ अर्ब आन्तरिक ऋण उठाइसकिएको छ । चालु आर्थिक वर्षमा रु दुई खर्ब ३१ अर्ब ३० करोड आन्तरिक ऋण परिचालन हुने अवस्था छ ।


लोकप्रिय छुटाउनुभयो कि ?