
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धीलाई मन नपराउने प्रवृत्ति कर्मचारी प्रशासनभित्र पनि रहेको टिप्पणी गरेका छन्।
जनताका पक्षमा राजनीतिक नेतृत्वले गरेका कामलाई प्रभावकारीरुपमा कार्यान्वयन हुन नदिने तथा त्यसको मर्मलाई आत्मसात् गर्न नचाहने प्रवृत्तिकाविरुद्ध कर्मचारीले नै सकारात्मक हस्तक्षेप गर्नुपर्ने दाहालको भनाइ छ ।
नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको केन्द्रीय समिति बैठकलाई आज यहाँ सम्बोधन गर्दै अध्यक्ष दाहालले कर्मचारीतन्त्रको यस्तो प्रवृत्तिलाई निरत्साहित गर्न कर्मचारीभित्रै अभियान चलाउनुपर्ने र सशक्त प्रतिवाद गर्नुपर्ने बताए।
परिवर्तन संस्थागत गर्ने सङ्घर्षमा हामी सबैको साझा प्रयास र सङ्कल्प आवश्यक रहेको दाहालको भनाइ छ । विगतमा विभिन्न कारणले फरकफरक कित्तामा रहेका पूर्वमाओवादी क्रमशः एक ठाँउमा उभिने वातावरण बन्दै गएकामा अध्यक्ष दाहालले प्रसन्नता व्यक्त गरे ।