
विराटनगर, २ असार । प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले आफ्नो कार्यकालमा प्रदेशको नामाकरण गर्न नसकेकोमा अफसोच लागेको बताएका छन् । बिहिबार विराटनगरमा पत्रकारसम्मेलन गर्दै पूर्व मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।
उनले तत्कालिन नेकपा रहँदा पार्टीभित्रको आन्तरिक कारणले दुईतिहाई बहुमत हुँदा पनि प्रदेशको नामाकरण गर्न नसकिएको दावी गरे ।
तत्कालिन नेकपामा माओवादी खेमा जातीय पहिचानको आधारमा प्रदेशको नामाकरणको पक्षमा थियो । पूर्व मुख्यमन्त्री राईले सोही किचलोका कारण नामाकरण गर्न नसकिएको इंगीत गरेका हुन् ।
उनले प्रदेशसभाको चालु अधिवेशनबाटै आफ्नो पार्टी नेकपा (एमाले) ले नामाकरणका विषयमा औपचारिकरुपमै छलफल थालिसकेको बताउँदै सत्तारुढ नेपाली कांग्रेसले साथ दिए आधा घण्टामै टुंगीने दावी गरे ।
उनले एमालेभित्र नामको समस्या नभएको बताउँदै कांग्रेसले सहयोग गरेमा एमालेले संसदीय दलमा आधा घण्टामै नाम टुंग्याउने बताए ।
एमाले र नेपाली कांग्रेस सवैलाई स्वीकार्य हुनेगरी भौगोलिक पहिचानको आधारमा नामाकरण गर्नुपर्ने पक्षमा रहँदै आएका छन् ।
तर, सत्तारुढ दल माओवादी केन्द्र, नेकपा (एस), जसपा र ंसंयुक्त लोकतान्त्रीक राष्ट्रिय मञ्च प्रदेश नामाकरणमा जातीय पहिचानसमेत जोड्नुपर्ने पक्षमा छन् ।