
नेकपा (एमाले) का सांसद ईश्वर पोखरेलले देशको असङ्लग्न नीतिलाई कमजोर बनाउने गरी कुनै सम्झौता गर्न नहुने बताएका छन् । पोखरेलले परराष्ट्र नीतिलाई कमजोर बनाउने विषयलाई एमालेले सधैँ प्रतिवाद गर्ने पनि उल्लेख गरेका हुन्।
प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै एमालेका वरिष्ठ उपाध्यक्षसमेत रहेका सांसद पोखरेलले अहिले आएको स्टेट पाटनरसिप प्रोग्राम (एसपिपी) राष्ट्रको हित विपरीत रहेकाले स्वीकार्य नहुने बताए ।
पोखरेलले आफु उपप्रधान तथा रक्षामन्त्री भएका बेला उक्त प्रस्ताव आएको तर आफूले राष्ट्र हित विपरीत जान नमिल्ने भन्दै अमेरिकाको प्रस्तावलाइ अस्विकार गरेको दाबी गरे ।
पोखरेलले नेकपा एमालेले विगतमा यसको प्रक्रिया अघि बढाएको भनी पूर्वाग्रहपूर्ण अभिव्यक्तिहरु आइरहेको आरोप पनि लगाए ।
पोखरेलले सन् २०१५ र २०१७ मा अमेरिकाबाट नेपालमा उक्त प्रस्ताव आएको र त्यो बेलामा सरकारको नेतृत्वमा एमाले नरहेको पनि स्पष्ट गरे । पोखरेलले उक्त प्रस्ताव अघि बढाउनु हुँदैन भन्ने विषयमा आफू सचेत रहेको पनि बताए।