Logo

मंसिर पहिलो साता संघीय चुनाव गर्ने आयोगको तयारी

                     
Logo 2022-06-14 07:06     Desk

13

निर्वाचन आयोगले आगामी मंसिर महिनाको पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन गर्ने गरी तयारी थालेको छ । मंगलबारको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आसन्न प्रदेश र संघको निर्वाचन आगामी मंसिर महिनाको पहिलो सातासम्म गर्ने गरी आयोगले आन्तरिक तयारी थालेको जानकारी दिए ।

आयोगले एकै चरणमा निर्वाचन गर्दा मंसिरको पहिलो सातासम्म निर्वाचन गर्ने गरी आन्तरिक तयारी गरेको पौडेलको भनाइ थियो । आयोगले सरकारलाई निर्वाचन कानुनबमोजिम दिएको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने भएकाले आयोगले आन्तरिक तयारी गरिरहेको उनको भनाइ थियो ।

उक्त चुनावलाई लक्षित गरी आयोगले आगामी १ असारदेखि मतदाता नामावली संकलन गर्ने भएको छ ।पौडेलले चुनावको मिति घोषणाका लागि नेपाल सरकारसँग औपचारिक र अनौपचारिक छलफल भइरहेको बताए । चुनावको मिति घोषणा कम्तीमा १२० दिनअगाडि नै हुने गरी गराउन आयोगले सरकारलाई आग्रह गरेको उनको भनाइ छ ।

यसअघि ३० वैशाखमा भएको स्थानीय तह चुनावअघि २९ वैशाखसम्म १८ वर्ष उमेर पुगेकाका लागि मतदानमा भाग लिन सकिने गरी सो निर्वाचनअगावै नामावली सङ्कलन र अद्यावधिक कार्य खुला गरिएको थियो । सो निर्वाचनमा नयाँसहित १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका थिए ।

आयोगले अब हुने निर्वाचनका लागि सबै निर्वाचन कार्यालय र सबै जिल्ला प्रशासन कार्यालय एवं ७३ वटा इलाका प्रशासन कार्यालयबाट यही असार १ गतेदेखि मतदाता नामावली सङ्कलन गर्ने जानकारी दिएको छ । आफू बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालयबाट स्थायी ठेगानामा रहने गरी मतदाता नामावली दर्ता गर्न सकिने आयोगले जनाएको छ । मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्म मितिलगायतका विवरण सच्याउन प्रमाणसहित निवेदन दिएमा नाम दर्ता अधिकारी (निर्वाचन अधिकारी) ले आवश्यक निर्णय गरी त्रुटि सच्याउन सक्ने जनाइएको छ ।

कुनै मतदाताले विवाह वा बसाइँ सरेका कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्नेछ । साथै, निवेदन दर्ता भएको कार्यालयले प्राप्त निवेदनउपर आवश्यक निर्णय गरी अर्को जिल्लासँग सम्बन्धित भए सम्बन्धित जिल्लामा आवश्यक प्रमाणसमेत स्क्यान गरी पठाउने निर्णय भएको पौडेलले जानकारी दिए ।

मतदाताले आफ्नो नाम रहेको मतदानस्थलबाट पायक पर्ने सोही वडाको अर्को मतदानस्थलमा नाम सार्न निवेदन दिएमा सोहीबमोजिम स्थानान्तरण गरिदिने, मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि कुनै व्यक्तिले इमेल वा फ्याक्समार्फत निर्वाचन कार्यालयमा निवेदन दिएमा त्यस्तो निवेदनउपर प्रमाण कागजात हेरी प्रमाण पुगेका आधारमा सम्बन्धित नाम दर्ता अधिकारीले नामावली अद्यावधिक गर्ने आयोगले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?