
काठमाडौं, ३१ जेठ । बाह्य क्षेत्रलाई जोडेर आगामी मौद्रिक नीति कसिलो आउने विश्लेषण हुने थालेपछि सेयर बजार निरन्तर झर्न थालेको छ। खासगरी बजेट आएपछि सेयर बजार निरन्तर झर्न थालेको हो।



बजेटअघि पनि बजार घटिरहेको थियो। तर बजेटपछि भने बजार निरन्तर ओरालो लागेको छ। बजेटपछिको १२ कारोबार दिनमा सेयर बजार एक दिन मात्र बढेको छ। त्यो दिन ६० अंकको फराकिलो अंकले बजार बढेको थियो।
त्यसअघि र पछि गरेर बजार बजेटयता १७७ अंकले घटिसकेको छ। मंगलबारको बजार २०७७ मंसिरयताकै कमजोर हो। त्यसबेला पनि बजार २००० अंक तल थियो।
मंगलबार सेयर बजार ३६ अंक घटेर २००० अंक तल आएको हो। घटेको बजारलाई उकास्ने बेला आइसकेको पूर्वअर्थमन्त्री, अर्थशास्त्रीहरुले बताइरहँदा सरकार र राष्ट्र बैंकबाट भने कुनै पहल भएको छैन।
बजार गत असारदेखि फराकिलो अंकले घट्न थालेको हो। त्यसअघि कोभिड र लकडाउनका कारण आर्थिक सूचकांकहरु खस्किँदा पनि अधिक भएको बैंकिङ तरलताका कारण सूचक उक्लिएको थियो। कारोबार रकम पनि बढेको थियो। बजार बढेर ३२ सय अंकमाथि पुगेको थियो भने बजार पुँजीकरण ४४ खर्ब रुपैयाँ नाघेको थियो।
जसै साउनदेखि देशको शोधनान्तर घाटा बढ्न थाल्यो र बैंकिङ तरलता हराउन थाल्यो, सूचक ओरालो यात्रामा छ। यसबीचमा बजारलाई प्रभावित पार्ने थुप्रै नीतिगत हस्तक्षेप हुँदा लगानीकर्ताको मनोबल कमजोर भएर सूचक २००० तलसम्म आएको हो।
पछिल्लो समय भने आगामी वर्षको 'अवास्तविक' बजेटका कारण सूचक घटेको विश्लेषकहरु बताउँछन्। बाह्य क्षेत्रको भ्वाङ झन् झन् ठूलो भइरहेका बेला ८ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य सरकारले राखेको छ। जसलाई मौद्रिक नीतिले कुनै पनि हालतमा सहयोग गर्दैन भन्ने विश्लेषण बलियो भएर गएको छ।