Logo

विराटनगरलाई बजेटले नसमेटेको भन्दै सांसद मोदीको आक्रोश

                     
Logo 2022-06-14 06:06     Desk

13

विराटनगर । मोरङ ४ बाट निर्वाचित सांसद अमनलाल मोदीले विरोटनगरको विकासलाई ओझेलमा पार्नेगरि बजेट आएको भन्दै आपत्ती जनाएका छन् ।

प्रतिनिधिसभामा जारी विनियोजन विधेयकमाथिको छलफलका क्रममा बोल्दै मंगलबार मोदीले राजनीतिक विषयभन्दा माथि उठेर समग्र विराटनगरको विकासका लागि संघीय सरकारको ध्यानआकर्षण गराए ।

इतिहासमा विराटनगर राजनीतिक तथा आर्थिक हिसावले अग्रणी अवस्थामा रहेको भन्दै उनले अहिलेको बजेटले विराटनगरलाई उचित सम्बोधन गर्न नसकेकोप्रति आपत्ती जनाएका छन् । सांसद बैठकमा मोदीले भने, ‘राजनीतिक रुपमा सवैभन्दा अग्रणी शहर विराटनगर, देशको दोस्रो ठूलो शहर, देशको सवैभन्दा ठुलो औद्योगिक शहर, आज सरकारकै कारण छैटौं स्थानमा पुगेको छ ।’ राजनीतिक रुपमा ठूला परिवर्तनको नेतृत्व गरेको र राजनीतिक शीर्ष नेता जन्माएको विराटनगरको यथार्थ र संवेदनशिलता बजेटले नबुझेको उनको भनाइ छ ।

विराटनगर रिङरोडको कुरा दशकौंदेखि अलपत्र बनेको र विराटनगर विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल बनाउने कामको लागि बजेट नराखेकोप्रति मोदीले आक्रोश व्यक्त गरे । विमानस्थल विस्तार र रिङरोडको लागि जनताको जग्गा अधिग्रहण भएको भएपनि काम नहुनु विडम्बना भएको उनको भनाइ छ । अझ विमानस्थल आसपासको जग्गा रोक्का गरेर सरकारले अधिग्रहणको काम पनि अगाडि नबढाउँदा स्थानीयवासी समस्यामा परेको उनले बताए ।

वर्षायाममा विराटनगर डुवानमा पर्ने गरेको छ र त्यसले फोहोर बढ्ने तथा संक्रामक रोग र लामखुट्टेको विगविगी हुने गरेको भन्दै उनले कोशी अस्पतालको सुधार र विकासको लागि सरकारले ध्यान दिनुपर्ने बताए । सरकारी अस्पतालको सेवा प्रभाबकारी नहुँदा निजी अवस्पतालहरु फस्टाउँदै गएको र सर्वसाधारण उपचारबाट बञ्चित रहने अवस्था बनेको उनको भनाइ थियो ।

विराटनगरको विकासका लागि आवश्यक ध्यान नदिएकोमा आक्रोश व्यक्त गर्दै मोदीले विराटनगरेको विकासको लागि प्रधानमन्त्री र मन्त्रीहरु विराटनगरकै हुनुपर्ने हो भन्ने प्रश्न गरे । ‘के अब फेरि प्रधानमन्त्री विराटनगरबाटै बनाउनुपर्ने हो ? विकासको लागि मन्त्रीहरु विराटनगरबाटै बन्नुपर्ने हो ? कि आन्दोलन गर्नुपर्ने हो ?’ उनको प्रश्न थियो ।

अब निरन्तरतामा हैन क्रमभंगतामा सोच्नु पर्ने अवस्था आएको भन्दै मोदीले विराटनगरको विगतको ऐतिहासिक विरासत बचाउन सरकारको ध्यानाकर्षण गराए ।


लोकप्रिय छुटाउनुभयो कि ?