Logo

आइजीपी नियुक्तिबिरुद्धको मुद्धा हेर्दाहेर्दैमा

                     
Logo 2022-06-13 07:06     Desk

13

काठमाडौं, जेठ ३० । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) बिश्वराज पोखरेलले दिनुभएको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

गत वैशाख १८ गते मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । रिटको सुनुवाइका लागि यसअघि जेठ १७ गतेको इजलासले सोमबारका लागि पेशी तोकेको थियो ।

गोलाप्रथाबाट पेशी तोक्दा कामु प्रधानन्यायाधीश कार्की र चुडालको इजलासमा परेको हो । जेठ १७ मै अन्तिम सुनुवाइको मिति तोकिए पनि त्यसदिन सुनुवाइ हुन सकेको थिएन । त्यतिबेला न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र चुँडालको इजलासमा परेको थियो ।

पोखरेलको रिटसँगै अवकाश भइसकेका तीन डीआईजीको मुद्दा पनि सँगै राखिएको छ । यसअघि वैशाख २२ गते न्यायाधीश सुष्मालता माथेमाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै जेठ १७ गतेलाई अर्को पेसी तोकेको थियो ।

कारण देखाऊ आदेश दिएकोमा सबैले लिखित जवाफ पनि पेश गरिसकेका छन । सरकारले आफूभन्दा जुनियरलाई आईजीपी बनाएको भन्दै एआईजी पोखरेल सर्वोच्च पुग्नुभएको हो । सँगै भर्ना भए पनि पोखरेल सिंहभन्दा १७ महिना पहिले एआईजी हुनुभएको थियो ।

सर्वोच्चले पोखरेलको पक्षमा फैसला नगरे उहाँ राजीनामा दिने तयारीमा हुनुहुन्छ । पोखरेलले मुद्धा हारे एआईजीको उमेर हदका कारण साउन २० गते अनिवार्य अवकाशमा जानुहुने छ । उहाँ सिंहलाई आईजीपी स्वीकार्न नसक्ने भन्दै अहिले बिदा अस्वीकृत भए पनि कार्यालयमा हाजिर हुनुभएको छैन । उहाँको बिदा २४ गते नै सकिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?