
प्रतिपक्षी एमालेका सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबोरमा संसदलाई जानकारी दिनुपर्ने बताएका छन् ।
सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै रावलले प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारीबारे संसदलाई जानकारी गराउन समेत माग गरेका हुन् । उनले नेपालको असंग्लन र स्वतन्त्र परराष्ट्र नीतिलाई वर्तमान गठबन्धन सरकारका गतिविधिहरूले त्यो नीति र मान्यतालाई उल्लंघन गरेको आरोप लगाए ।
रावलले नेपाल भ्रमणमा रहेका अमेरिकी जर्नलले नेपाली सेना भरपर्दो स्थलगत सेना भनेको प्रति आपति जनाए । अमेरिकी जर्नेलले स्थलसेना भरपर्दो भन्नु स्थल समूहमा काम गर अथवा अमेरिकाले सञ्चालन गरेको राज्य साझेदारी कार्यक्रमको अंग भएको हो कि भन्ने आंशका उत्पन्न भएको उनले बताए । उनले प्रधानमन्त्रीको भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले नगरेर रक्षा मन्त्रालय र सेनाले गर्नु गम्भीर विषय रहेको बताए ।
रावलले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणअघि प्रधानमन्त्रीपत्नी आरजु राणा सल्लाह लिन भारत गएको आरोप लगाए । उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा स्टेट पार्टनरसिप कार्यक्रममा हस्ताक्षर गर्ने गोप्य तयारी भइरहेको पनि आरोप लगाए । प्रधानमन्त्रीपत्नी आरजु अहिले स्टेट पार्टनरसिप कार्यक्रममा हस्ताक्षर परामर्शकै लागि भारत गएको रावलले बताए ।
रावलले अमेरिका सेनाको युटा नेसनल गार्डलाई नेपाल ल्याउने योजनाअनुसार स्टेट पार्टनरसिप सम्झौताको तयारी हो भने निकै गम्भीर कुरा भएको भन्दै प्रधानमन्त्रीले संसदमा जानकारी गराउनुपर्ने बताए । उनले अमेरिका भ्रमण र हस्ताक्षरका विषयमा समितिलाई परराष्ट्र मन्त्रीले जानकारी दिएर नहुने बताए ।