Logo

प्रधानमन्त्री देउवा र लोसपाका नेताहरुबीच छलफल

                     
Logo 2022-06-13 01:06     Desk

13

प्रधानमन्त्री शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरुले भेटवार्ता गरी आफ्ना मागको स्मरण गराएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज लोसपा अध्यक्ष महन्थ ठाकुर नेतृत्वमा गएको लोसपाको प्रतिनिधिण्डलले यही जेठ २४ गते बुझाएको ११ बुँदे मागसहितको ज्ञापनपत्रबारे ध्यानाकर्षण गराएको हो ।

प्रधानमन्त्री समक्ष हालै बुझाएको मागको ‘फलोअप’ को रुपमा भेटगरी छलफल भएको लोसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । जवाफमा प्रधानमन्त्री देउवाले आर्थिक वर्ष २०७९÷८० को विनियोजन विधेयक संसद्बाट पारित भएलगत्तै लोसपाका माग सम्बोधन गर्ने बचन दिएको नेता कर्णले बताए । “हामी (लोसपा) ले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनबारे फलोअपस्वरुप भेटघाट गरेका हौँ, बजेटपछि मागको सम्बोधन हुन्छ भन्नुभएको छ”, नेता कर्णले भने।

लोसपाले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गरिनुपर्ने तथा आफ्ना नेता–कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग राख्दै प्रधानमन्त्री समक्ष ज्ञापन बुझाएको थियो । अध्यक्ष ठाकुरका साथमा नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, कर्णलगायतका नेताहरू बालुवाटार पुगेका थिए।


लोकप्रिय छुटाउनुभयो कि ?