Logo

रंगेलीमा हिँजो विहानदेखि रोकिएको मतगणना सुरु

                     
Logo 2022-05-21 09:05     Desk

13

विराटनगर, ७ जेठ । रंगेलीमा शुक्रबार विहानदेखि रोकिएको मतगणना पुनः सुरु भएको छ । कम्युटरमा प्रविष्टी गर्ने क्रममा प्राविधिक गल्तिका कारण बढी मत देखिएको विषयमा गठबन्धन दलका प्रतिनिधिहरुले विवाद गरेपछि रोकिएको मतगणना पुनः सुरु भएको हो ।

मुख्य निर्वाचन अधिकृत रामहरी काफ्लेले साँझ ६ बजेदेखि मतगणना कार्य जारी रहेको जानकारी दिए । ‘कम्प्युटरमा भएको इन्ट्री मिस्टेकको विषयमा अनुगमन टोलिले अनुगमन ग¥यो । छानविन समितिले समेत छानविन गरेर गरेर मतगणना सुचारु गराउन भनेकाले अहिले मतगणना कार्य जारी छ ।’ उनले भने,‘ अहिले ६, ७ र ८ नम्बर वडाको मतगणना कार्य जारी छ । ६ नम्बर वडाको अन्तिम चरणमा पुगिसकेको छ । एकछिनमा ६ नम्बर वडाको सकिन्छ ।’

बढी मतपत्र देखिएको विषयमा छानविन गर्न निर्वाचन आयोगले प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवन कस्यप अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानविन समितिनै गठन गरेको थियो । त्यस्तै प्रदेश १ का सामाजिक विकास मन्त्रालयका सचिव दिर्घराज मैनालीको संयोजकत्वको अनुगम समितिले अगुगम गर्दा समेत कम्प्युटरमा प्राविधिक त्रुटी पुष्टि भएपछि मतगणना कार्य सुरु भएको हो ।

अनुगम टोलीका संयोजक मैनालीले गणना भइसकेको र बाँकी मतको सवै हिसाब निकाल्दा मिलेको बताए । ‘कम्युटरमा खेस्राको रुपमा राखेको डाटा दोहरो इन्ट्री गरेको कारणले मात्र फरक परेको अवस्था रहेछ ।’ उनले भने,‘त्यो अहिले हेर्दाखेरि कुल खसेको मत र त्यहाँ भएको मतपत्रहरु हुबहु मिलेको पाइएकाले अहिले सवै पक्षलाई लिखितरुपमै मतगणनामा सामेल हुन अनुरोध गरेको छ । अधिकांश गणनामा सहभागी हुनुहुन्छ । अहिले रोकिएको मतगणना चालु भएको छ ।’

शुक्रबार मतगणनाका क्रममा विवाद हुँदा दिउँसो झडप समेत भएको थियो । मतगणनाका क्रममा बढी मत भेटिएको भन्दै कांग्रेसलगायत गठबन्धनका कार्यकर्ताले विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीसँग झडप भएको थियो ।

प्रदर्शनकारीहरुले सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथी ढुंगामुढा प्रहार गरेपछि झडप भएको थियो । मतगणना स्थलको सुरक्षा र अवस्था नियन्त्रणका निम्त्ति बल प्रयोग गर्ने क्रममा प्रहरीले दुई राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको थियो ।

रंगेली–७ को मतगणनाको क्रममा १०७ मत बढी देखिएको भन्दै गठबन्धनमा आवद्ध दलका नेता कार्यकर्ताहरुले शुक्रबार विहानदेखि विरोध प्रदर्शन गरिरहेका थिए । उनीहरुले शनिबार दिउँसो पनि प्रदर्शन गर्दै पुनः निर्वाचन गर्न माग गरेका थिए ।

यस अघि पनि मतगणनामा लगातार एमालेका उम्मेदवारहरुले फराकिलो मतान्तर बनाएकाले धाँधली भएको कांग्रेससहित गठबन्धनमा आवद्ध दलले आरोप लगाएर पुनः मतगणना गर्न लगाएका थिए । त्यतिबेला प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले रंगेलीनै पुगेर निरिक्षण गरेर मतगणना रुचारु गराएका थिए । शुक्रबार फेरी विवाद हुँदा रोकिएको मतगणना अहिले जारी रहेको हो ।

हालसम्म १ देखि ५ नम्बर वडाको मतगणना सम्पन्न भइसकेको छ । ६ नम्बर वडाको अन्तिम चरणमा पुगेको जनाइएको छ । ती सवै वडामा एमाले उम्मेदवार फराकिलो मतान्तरसहित प्यानलै निर्वाचित भएका छन् ।

एमालेका मेयर उम्मेदवार दिलिप बगडीया र उपमेयर उम्मेदवार भूमा पराजुलीले पनि फराकिलो मतान्तरसहित अग्रता कायम राखेका छन् । गणना हुँदै गरेका ६ र ७ नम्बर वडामा पनि एमालेकै उम्मेदवारको फराकिलो मतान्तर छ ।


लोकप्रिय छुटाउनुभयो कि ?