Logo

रंगेलीमा प्रहरी र प्रदर्शकारीबिच झडप, फेरी रोकियो मतगणना

                     
Logo 2022-05-20 05:05     Desk

13

विराटनगर, ६ जेठ । मोरङको रंगेलीमा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ । मतगणनाका क्रममा बढी मत भेटिएको भन्दै कांग्रेसलगायत गठबन्धनका कार्यकर्ताले विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीसँग झडप भएको हो । मतगणनामा धाँधली गर्न खोजिएको भन्दै कांग्रेससहित गठबन्धनका कार्यकर्ता प्रहरीबिच झडप भएको हो ।

प्रदर्शनकारीहरुले सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथी ढुंगामुढा प्रहार गरेपछि झडप भएको प्रत्यक्षदर्शीले बताएका छन् । मतगणना स्थलको सुरक्षा र अवस्था नियन्त्रणका निम्त्ति बल प्रयोग गर्ने क्रममा प्रहरीले दुई राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको छ । झडपका कारण अहिले रंगेलीको अवस्था तनाबग्रस्त बनेको स्थानीय पत्रकार रविन्द्र बरालले बताए । भडपमा एक जना प्रहरी जवान घाइते भएको बताइएको छ ।

स्थिती तनाबग्रस्त भएपछि अहिले बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ । रंगेली–७ को मतगणनाको क्रममा १०७ मत बढी देखिएको भन्दै गठबन्धनमा आवद्ध दलका नेता कार्यकर्ताहरुले आज विहानैदेखि प्रदर्शन गरिरहेका थिए ।

कार्यकर्ताहरुको विरोधका कारण अन्य वडाको मतगणना समेत स्थगित भएको थियो । वडा नम्बर ७ मा ३२४२ मत खसेकोमा मतगणनाको क्रममा ३३४९ मत देखिएको थियो । सोही कारण कार्यकर्ताहरुले धाँधली भएको भन्दै प्रदर्शन गरेका हुन् । तर, कम्युटरमा इन्ट्री गर्ने क्रममा त्रुटीका कारण बढी मत देखिएको मुख्य निर्वाचन अधिकृत रामहरी काफ्लेले बताए ।

उनले कम्प्युटरमा मत इन्ट्री गर्ने क्रममा प्राविधिक त्रुटीका कारण बढी मत देखिएको बताए । ‘हामीले वडा नं. ७ बाट १० वटा मतपेटिका बुझेका थियौँ ।’ उनले भने, ‘तर, मतगणना गरी कम्प्युटरमा प्रविष्टि गर्ने क्रममा भएको प्राविधिक त्रुटिका कारण १०७ मत बढी प्रविष्टि भएको रहेछ । अरु केही होइन ।’

यसअघि पनि मतगणनामा लगातार एमालेका उम्मेदवारहरुले फराकिलो मतान्तर बनाएकाले धाँधली भएको कांग्रेससहित गठबन्धनमा आवद्ध दलले आरोप लगाएर पुनः मतगणना गर्न लगाएका थिए ।

त्यतिबेला प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले रंगेलीनै पुगेर निरिक्षण गरेर मतगणना रुचारु गराएका थिए । अहिले फेरी विवाद भएको हो । हालसम्म १ देखि ५ नम्बर वडाको मतगणना सम्पन्न भइसकेको छ । ती सवै वडामा एमाले उम्मेदवार फराकिलो मतान्तरसहित प्यानलै निर्वाचित भएका छन् ।

एमालेका मेयर उम्मेदवार दिलिप बगडीया र उपमेयर उम्मेदवार भूमा पराजुलीले पनि फराकिलो मतान्तरसहित अग्रता कायम राखेका छन् । गणना हुँदै गरेका ६ र ७ नम्बर वडामा पनि एमालेकै उम्मेदवारको फराकिलो मतान्तर छ । सोही कारण प्राविधिक त्रुटीको विषयलाई लिएर विवाद बढाउँदै कांग्रेससहित गठबन्धनका कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन् ।

 


लोकप्रिय छुटाउनुभयो कि ?