
दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा साविक विजेता चेन्नई सुपर किङ्सले चौंथो जित निकालेको छ । आइतबार मुम्बईमा चेन्नईले दिएको २०९ रनको लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ११७ रन मात्र बनाउन सक्यो ।
दिल्लीका लागि मिचेल मार्शले सर्वाधिक २५ रन बनाए । चेन्नईका मोइन अलीले सर्वाधिक ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०८ रनको योगफल तयार पारेकाे थियाे ।
चेन्नईका डेभोन कोन्वेले सर्वाधिक ८७ रन बनाए । दिल्लीका एन्रिच नोर्कियाले ३ विकेट लिए । जितसँगै चेन्नई ११ खेलबाट ८ अंक जोडेर आठौँ स्थानमा छ । दिल्ली ११ खेलमा १० अंक जोडेर पाँचौं स्थानमा छ ।
बैंगलाेरको सातौं जित
आइतबार नै भएको अर्को खेलमा सनराईजर्स हैदरावादलाई ६७ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलाेरले प्रतियोगितामा सातौँ जित निकालेको छ । मुम्बईमा बैंगलाेरले दिएको १९३ रनको लक्ष्य भेट्टाउनु अघि हैदरावाद १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १२५ रनमा समेटियो ।
हैदरावादका राहुल त्रिपाठीले सर्वाधिक ५८ रन बनाए । बैंगलोरका वानिन्दु हसरंगाले सर्वाधिक ५ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बैंगलाेरले २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनायो । बैंगलाेरका कप्तान फाप डु प्लेसिसले सर्वाधिक ७३ रन बनाए । हैदरावादका जगदीश सूचितले २ विकेट लिए ।
जितसँगै बैंगलाेर १२ खेलबाट १४ अंक जोडेर चौंथो स्थानमा छ । हैदरावादले ११ खेलबाट १० अंक जोडेर छैटौँ स्थानमा छ ।