Logo

विराटनगरमा कोइरालालाई गठबन्धन र आफ्नैबाट धोकाको डर, थापाले फर्काउलान् एमालेको विरासत ? (२०७४ को परिणामसहित)

                     
Logo 2022-05-02 11:05     Desk

13

विराटनगर, १९ वैशाख । आगामी ३० वैशाखमा हुने निर्वाचनका लागि प्रदेश १ को राजधानीसमेत रहेको एक मात्र महानगर विराटनगरको चुनावी माहोल तातेको छ । यतिबेला विराटनगरमा सवै दल र स्वतन्त्र उम्मेदवार चुनावी अभियानसहित जनताको घरदैलोमा व्यस्त छन् । उनीहरु आ–आफ्नो चुनावी एजेण्डा र प्रतिवद्धतासहित जनताको घरदैलोमा मत माग्दै पुगिरहेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार विराटनगरको मेयरमा १३ र उपमेयर पदमा १४ जनाको उम्मेदवारी कायम भएको छ । विराटनगरको मेयर पदका लागि स्वतन्त्रसहित १३ र उपमेयरमा १४ जना चुनावी मैदानमा रहेपनि मुख्य प्रतिष्पर्धा नेकपा (एमाले) र सत्ता गठबन्धनबिचनै हुने देखिएको छ ।

एमालेका तर्फबाट मेयर पदका लागि महानगर कमिटी अध्यक्ष सागर थापा चुनावी मैदानमा छन् । एमालेले उपमेयरमा शिल्पा कार्कीलाई अघि सारेको छ । त्यस्तै सत्ता गठबन्धनले नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालालाई मेयरकारुपमा अघि सारेको छ ।

पाँच दलिय सत्ता गठबन्धनले गरेको भागवण्डा बमोजिम विराटनगरको मेयर कांग्रेसको भागमा परेको थियो । त्यस्तै जसपालाई विराटनगरको उपमेयर दिने केन्द्रीय सत्ता गठबन्धनले गरेको सहमति अनुसार उपेन्द्र यादवका छोरा अमरेन्द्रलाई सो पार्टीले अघि सारेको हो ।

सत्ता गठबन्धनमा पाँच दल भएपनि विराटनगरमा कांग्रेस र जसपाको तालमेल भएको छ । केन्द्रीय सत्ता गठबन्धनबिच भएको सहमति बमोजिम माओवादी केन्द्रले आधिकारीक रुपमा मेयर र उपमेयर पदमा उम्मेदवार उठाएको छैन ।

तर, सोही पार्टीकी विराटनगर महानगर कमिटी सचिव नमिता न्यौपानेले उपमेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । माओवादी केन्द्रकै तर्फबाट उम्मेदवारी दर्ता गराएको खण्डमा केन्द्रीय सत्ता गठबन्धनको सहमति भाँडीने र चितवनको भरतपुरमा प्रचण्ड पुत्री रेणु दाहालले चुनाव हार्ने डरले न्यौपानेलाई स्वतन्त्र उम्मेदवारका रुपमा अघि सारिएको हो ।

न्यौपानेलाई माओवादी नेता कार्यकर्ताको साथ छ । न्यौपानेको चुनावी प्रचारप्रसार र घरदैलोमा माओवादी केन्द्रका नेता कार्यकर्ताले सघाइरहेका छन् । गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएकी न्यौपानेलाई माओवादी केन्द्रले कारबाहीसमेत गरेको छैन । उम्मेदवारलाई टिकट वितरणको विषयलाई लिएर सत्ता गठबन्धनको नेपाली कांग्रेस र जसपाभित्र चर्को असन्तुष्टी छ ।

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट जितेका निवर्तमान मेयर भीम पराजुलीले पनि पुनः उम्मेदवार बन्ने आकांक्षा राखेका थिए । पार्टी सभापति देउवा खेमामा खुलेका उनको टिकट लगभग ‘पक्कापक्की’ जस्तै भइसकेको थियो ।

तर, कोइराला परिवारको पकड रहेको विराटनगरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने अडानबाट डा. शेखर कोइराला पछि नहटेपछि देउवा गलेका थिए । सोही कारण कोइरालाले अन्तिम समयमा टिकट पाउन सफल भएको कांग्रेसकै नेताहरु बताउँछन् । कोइरालालाई टिकट दिएपछि निवर्तमान मेयर पराजुलीले आफुमाथि अन्याय भएको सार्बजनिकरुपमै बताइसकेका छन् ।

लामो समय कोइराला खेमामा रहेका पराजुली मेयरको टिकटकै लागि कित्ता परिवर्तन गर्दै संस्थापन (देउवा) पक्षमा लागेका थिए । उनी देउवा प्यानलबाटै नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

कोइरालाले टिकट पाएकोमा संस्थापन पक्षका नेताहरुमा असन्तुष्टी देखिएको छ । जसका कारण कोइरालामाथि अन्तरघातको खतरा रहेको कांग्रेसका एक नेता बताउँछन् । २०७४ सालको निर्वाचनमा एक्लै लडेर मेयर, उपमेयरसहित अधिकांस वडा जितेको कांग्रेसले अन्य दलहरु विभाजित र टुटफुटका कारण कमजोर अवस्थामा रहेपनि पार्टीले गठबन्धन गरेर सिट बाँडेकोमा पनि नेता कार्यकर्तामा असन्तुष्टी उत्तिकै छ ।

उपमेयर जसपालाई छाडेपछि कांग्रेसमा आवद्ध महिलाहरुसमेत रुष्ट छन् । जसका कारण कोइरालालाई कांग्रेसकै सवै प्रतिवद्ध मत नआउन सक्ने आशंका रहेको कांग्रेसका एक नेता बताउँछन् ।

उता उपमेयर पाएको जनता समाजवादी पार्टीमा पनि टिकट वितरणकै विषयलाई लिएर भाँडभैलो छ । जसपाबाट विराटनगरमा मेयरको उम्मेदवार बन्ने आकांक्षा राखेका प्रभावशाली नेता उमेश यादवले कांग्रेससँग गठबन्धन गरेपछि पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

त्यस्तै कांग्रेसँग गठबन्धन गरेको जसपाले पार्टीका केन्द्रीय अध्यक्ष उपपेन्द्र यादवका छोरालाई उपमेयरको उम्मेदवार बनाएपछि विराटनगरकी प्रभावशाली नेतृ बसुन्धरादेवी झाले पनि पार्टी त्यागेर उपमेयरमै स्वतन्त्र उम्मेदवारी दिएकी छिन् ।

उनीहरुले कांग्रेस र जसपाको धेरै मत काट्ने विराटनगरमा विश्लेषण भइरहेको छ । अर्कोतिर सत्ता गठबन्धनकै प्रमुख दल माओवादी केन्द्र र एमालेबाट चोइटीएर बनेको नेकपा (एस) कांग्रेसले आफुहरुको अपमान गरेको भन्दै असन्तुष्ट छन् ।

उता एमालेले भने आफ्नो पार्टी एक ढिक्का रहेको दावी गरेको छ । विगतको निर्वाचनमा पार्टीभित्रै रहेर माधव नेपाल समुहले अन्तरघात गर्दै आएका कारण पराजित हुनुपरेपनि यसपटक भने एमाले एक ढिक्का रहेको महानगर कमिटीका अध्यक्षसमेत रहेका मेयर पदका उम्मेदवार थापा बताउँछन् ।

उनले पहिले भन्दा अहिले एमाले अझ शक्तिशालि भएकाले निर्वाचन परिणाम आफ्नो पक्षमा आउने दावी गरे । कांग्रेस, जसपामा पार्टीभित्रको असन्तुष्टी र गठबन्धनमा आवद्ध दलहरुबिचको खट्पटीका कारण यसपटकको निर्वाचन विराटनगरमा रोचक हुने देखिएको छ ।

को हुन् थापा र कोइराला ?

एमालेका उम्मेदवार सागर थापा विराटनगरमा निकै लोकप्रीय नेता हुन् । उनी जनतामाझ घुलमिल भइरहने नेता हुन् । करिब १२ वर्ष विराटनगरमा पार्टीको नेतृत्व गरेका थापा नियमित टोलवस्तीहरुमा पुग्दै आएका छन् ।

थापा जनताको हरेक सुख दुखमा सामेल हुने नेताका रुपमा विराटनगरमा परिचित रहेको उनी समर्थकहरु बताउँछन् । यसपटकको निर्वाचनमा मेयरको उम्मेदवार बन्न केन्द्रीय नेतहरुलेसमेत आकांक्षा देखाएपनि सागर थापा आम कार्यकर्ताका माग थियो ।

विराटनगरमा लोकप्रीयता र कार्यकर्ताको माग बमोजित थापाले टिकटमा बाजी मारेका हुन् । इमान्दार नेताको छवि बनाएका थापा विवादका कहिल्यै नमुछिएको एमालेजन बताउँछन् ।

बुवा चन्द्रबहादुर र आमा कमला थापाको कोखबाट ३ साउन २०३३ मा जन्भिएका उनी विराटनगरवासी माझ घुलमिल हुँदै आएका नेता हुन् । विराटनगर–४ जामुनगाछी घर भएका थापा स्कुले जीवनदेखि नै विद्यार्थीको हक हितको आवाज उठाउँदै अनेरास्ववियुमा आबद्ध भएका थिए । विद्यार्थी आन्दोलनबाटै उनी पार्टीको राजनीतिमा आएका हुन् । थापा २०४६ सालदेखि औपचारिकरुपमा विद्यार्थी राजनीतिमा होमिएका थिए ।

स्नातकोत्तरसम्मको अध्यक्ष पुरा गरेका थापा देशकै चर्चित विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसको दुई पटक स्ववियू सभापति भए । थापा महेन्द्र मोरङ क्याम्पस विराटनगरको २०५७ देखि ०६० र २०६० देखि २०६२ सम्म स्ववियू सभापति भएका थिए ।

विद्यार्थी राजनीति हुँदै एमालेको राजनीतिमा सक्रिय थापा विद्यार्थी कालदेखि नै जुझारु कार्यकर्ताको पहिचान बनाएका थिए । नेकपा एमाले महानगर कमिटी इन्चार्ज हुँदै संयोजक र अध्यक्ष भई लगातार १२ वर्षदेखि विराटनगर महानगरको नेतृत्व थापाले गरेका छन् ।

शाही शासन कालमा आन्दोलन गरिरहँदा पक्राउ परि २८ दिन जेल जीवन पनि उनले बिताएका थिए । २०७४ सालमै मेयरको उम्मेदवार टुंगो लागेपनि अन्तिम समयमा हेभिवेट नेतालाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेपछि उनी पछि हटेका थिए ।

२०७४ सालको निर्वाचनमा नेता विनोद ढकालले टिकट पाएका थिए । तर, उनी तत्कालिन कांग्रेसका नगरसभापति भीम पराजुलीसँग मेयरमा पराजित भएका थिए । पराजुली पनि नेवि संघको बागी उम्मेदवार बनेर महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापति जितेका थिए । थापा पछिका स्ववियु सभापति पराजुली हुन् ।

कांग्रेस–जसपा गठबन्धनका उम्मेदवार नागेश कोइराला हाल कांग्रेस मोरङका उपसभापति हुन् । उनी कोइराला परिवारकै लिगेसीका कारण राजनीतिमा अघि बढेको कांग्रेसजन बताउँछन् । कोइरालाको पारिवारिक पृष्ठभूमीनै राजनीतिसँग जोडिएको छ ।

कांग्रेस नेता डा. शेखर कोइराला र नागेशबीच पारिवारिक सम्बन्ध छ । उनी कांग्रेसको भ्रातृ संगठन तरुण दल मोरङको कोषाध्यक्ष भएपछि सक्रिय राजनीतिमा लागेका हुन् । तरुण दलपछि उनी कांग्रेसको जिल्ला सचिव हुँदै हाल पार्टीको जिल्ला उपसभापति छन् । कोइराला कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सम्पन्न जिल्ला अधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका थिए ।

कसले मार्ला बाजी ?

२०७४ सालको निर्वाचनमा एमाले र तत्कालिन विजय गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम (लोकतान्त्रीक) ले चुनावी तालमेल गरेका थिए । हाल गच्छदारको पार्टी कांग्रेसमा समाहित भइसकेको छ ।

त्यस्तै उक्त निर्वाचनमा माओवादी केन्द्र र तत्कालिन उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले गठबन्धन गरेका थिए । सो निर्वाचनमा कांग्रेस एक्लै लडेको थियो ।

२०७४ को निर्वाचनमा विराटनगरमा एक्लै लडेको कांग्रेसले मेयर र उपमेयरसहित अधिकांश वडा जितेको थियो । उक्त निर्वाचनमा नेपाली कांग्रेसका भीम पराजुली २३०३१ मत ल्याएर मेयरमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का विनोद ढकालले १७३२१ मत प्राप्त गरेका थिए ।

सो निर्वाचनमा माओवादी केन्द्र र तत्कालिन संघीय समाजवादी फोरमले चुनावी तालमेल गरेका थिए । मेयरमा माओवादी–संघीय समाजवादी फोरमका साझा उम्मेदवार संघीय समाजवादी फोरमका उमेश यादव १४९५८ मतसहित तेस्रो भएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रल्हाद साहले ५५२४ मत ल्याएर चौथो भएका थिए ।

उपमेयरमा पनि नेपाली कांग्रेसकै इन्दीरा कार्की २०१४६ मत ल्याएर निर्वाचित भएकी थिइन् । उनकी निकटतम प्रतिद्वन्दी माओवादी केन्द्र र संघीय समाजवादी फोरमकी साझा उम्मेदवार माओवादी केन्द्रकी नमिता न्यौपानेले ११५२४ मात्र मत प्राप्त गरेकी थिइन् । एमालेसँग तालमेल गरेको मधेशी जनअधिकार फोरम (लोकतान्त्रीक) की सूची चौधरीले १०५३६ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी शोभा श्रेष्ठले ४१०२ मत प्राप्त गरेका थिए ।

१९ वडा रहेको विराटनगरमा नेपाली कांग्रेसले वडा नम्बर १, ३, ४, ७, ८, ९ र १६ वडा जितेको थियो । त्यस्तै संघीय समाजवादी फोरमले वडा नम्बर १२, १३, १४, १५, १७ र १८ नम्बर बाजी मारेको थियो ।

उक्त निर्वाचनमा संघीय समाजवादी पार्टीबाट १५ नम्बर वडाको वडाध्यक्षमा निर्वाचित भएका असलम आलम हाल नेपाली कांग्रेस प्रवेश गरेर कांग्रेसबाटै सोही पदमा उम्मेदवार बनेका छन् ।

एमालेले २, ५ र ११ नम्बर वडा जित्दा माओवादी केन्द्रले एउटा ६ नम्बर वडा मात्र जितेर अस्तित्व बचाएको थियो । वडा नम्बर १० र १९ मा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।

२०७४ को निर्वाचनमा विराटनगर महानगरको मतदाता संख्या एक लाख १३ हजार ७६१ थियो । यसपटकको निर्वाचनमा विराटनगरमा १९ हजार ३८१ मतदाता थपिएर एक लाख ३३ हजार १४२ पुगेको छ ।

गच्छदारको पार्टी समाहित भएको, अन्य पार्टी विभाजित र टुटफुटका कारण पनि कांग्रेस विराटनगरमा थप बलियो बनेको देखिन्छ । तर, कांग्रेसको संस्थापन र कोइराला पक्षबिचको टकराव टिकट वितरणदेखिनै छरपस्ट भइसकेको छ । कांग्रेससँगै गठबन्धन गरेको जसपा भित्रपनि वडातहसम्मै असन्तुष्टि छ । गठबन्धनका पाँच दलभित्रै विश्वासको वातावरण छैन ।

एमालेले माओवादी केन्द्रसहित अन्य पार्टीका धेरै नेता कार्यकर्ता भित्र्याएर विभाजनबाट भएको क्षती भन्दा बढी पूर्ती गरिसकेको जनाएको छ । तर, एमाले विभाजनको असर अहिलेनै आँकलन गरिहाल्ने अवस्था छैन ।

२०७४ को निर्वाचन परिणाम अनुसार हेर्दा एमाले भन्दा गठबन्धन तुलनात्मकरुपमा बलियो देखिएपनि आगामी निर्वाचनमा थपिएका मतदाता जता ढल्किन्छन् उसैले बाजी मार्ने निश्चीत छ । त्यसैले ३० वैशाखमा हुने निर्वाचनमा थापा वा कोइरालामध्ये कसले बाजी मार्ला, त्यसका लागि भने मतदानपश्चात गरिने गणनाको नतिजानै कुर्नुपर्ने हुन्छ ।

यस्तो छ विराटनगरको निर्वाचन इतिहास्

विराटनगरमा हालसम्म २ पटक कम्युनिस्ट र २ पटक कांग्रेसले मेयर जितेका छन् । २०४३ सालमा वामपन्थी उम्मेदवार ध्रुवनारायण श्रेष्ठ मेयर बनेका थिए । २०४८ सालमा भएको निर्वाचनमा कांग्रेसका उम्मेदवार अशोक कोइरालाले बाजी मारेका थिए । २०५४ सालको निर्वाचनमा एमालेका रमेशचन्द्र पौडेल मेयरमा निर्वाचित भए । पूर्व राजा ज्ञानेन्द्र शाहको शासनकालमा २०६२ सालमा भएको स्थानीय निर्वाचनबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रल्हाद साह मेयर निर्वाचित भएका थिए । २०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसका भीम पराजुलीले बाजि मारे ।


लोकप्रिय छुटाउनुभयो कि ?