Logo

लेटाङ घटनाका १० आरोपी जनही ५० हजार धरौतीमा छुटे

                     
Logo 2022-04-19 08:04     Desk

13

विराटनगर, ६ वैशाख । मोरङको लेटाङ घटनामा संलग्न कर्तव्य ज्यान मुद्दाका १० आरोपीलाई जिल्ला अदालत मोरङले मंगलबार जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

शिशिरराज ढकालको इजलसले मंगलबार यस्तो आदेश दिएको हो । आरोपितलाई तत्काल र्पूपक्ष थुनामा राखेर अनुसन्धान गर्नुपर्ने मिसिल प्रमाणबाट नदेखिएको ठहर गर्दै न्यायाधीश ढकालको इजलासले धरौटीमा छाड्ने आदेश दिएको सूचना अधिकृत हेमबहादुर बुढाथाकीले जानकारी दिएका छन् ।

अदालतको आदेशसँगै कृष्ण विश्वकर्मा, डम्बरबहादुर कार्की, विशेष मगर, सन्तोश कुंवर, कुमार बहादुर खोक्रेल, कपिल नेपाली, समिर राई, मनकुमार महरा, अनिल विश्वकर्मा र लेखबहादुर मगर जनही ५० हजार धरौटीमा रिहा भएका छन् ।

उक्त मुद्दाका पाँच आरोपित अझै फरार छन् । त्यसैगरी उक्त घटनामा अभद्र व्यवहार गरेको अभियोगमा मुद्दा खेपेका १५ जना नाबालकलाई पनि न्यायाधीश ढकालको इजलासले अविभावकको जिम्मा लगाउने आदेश दिएको छ ।

लेटाङ ५ खेरुवास्थित शिक्षा माध्यामिक विद्यालयका शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्यनतर एक बालिकालाई यौन र्दूर्व्यवहार गरेपछि उनलाई नियन्त्रण गर्न पुगेको प्रहरी टोलीलाई उत्तेजित भीडले आक्रण गर्दा चैत ६ गते राति २६ वर्षीया महिला प्रहरी जवान उर्मिला श्रेष्ठको घटना स्थलमा मृत्यु भएको थियो ।

उक्त घटनामा संलग्न भएको भन्दै मोरङ प्रहरीले एक १४ वर्षीय नाबालकसहित १६ जना विरुद्ध आजन्म कैदको माग गर्दै गत बुधबार जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो ।

प्रहरीले घटनामा ६७ जना प्रत्यक्ष रुपमा संलग्न भएको ठहर गर्दै ६२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । त्यसमध्ये एक नाबालकसहित १६ जना कर्तव्य ज्यानमा संलग्न भएको ठहर गर्दै आजन्म कैदको माग गर्दै कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेको थियो ।

प्रहरीले ५१ जना विरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाएको थियो । त्यसमध्ये १५ जना नाबालक थिए । चैत ६ गते आइतबार साँझ मोरङको लेटाङमा उत्तेजित भीडमा मारिएकी २६ वर्षीया प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु गोली लागेर भएको पुष्टि भएपछि घटनाले थप मोड लिएको छ । श्रेष्ठलाई लागेको गोली प्रहरीको हो वा उत्तेजित भीडबाट पनि गोली चलेको थियो भन्ने पुष्टि हुन सकेको छैन ।


लोकप्रिय छुटाउनुभयो कि ?