Logo

श्रीलंकामा नेपाली क्रिकेट टिमको विशाल जित

                     
Logo 2022-03-10 06:03     Desk

13

अभ्यास खेलका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले बिहीबार श्रीलंकाको प्रथम श्रेणीस्तरको टिम श्रीलंका प्रहरीमाथि विशाल जित हासिल गरेको छ । नेपालले उसलाई १४४ रनको अन्तरले पराजित गरेको हो ।

पहिला ब्याटिङ गर्दै नेपालले ७ विकेटमा ३३१ रनको विशाल स्कोर बनाएको थियो । जवाफी ब्याटिङ गरेको श्रीलंका प्रहरी टिम ३६ ओभर ५ बलमा १८७ रन बनाउँदा अलआउट भयो । नेपालको जितमा करण केसीले अलराउन्डर प्रदर्शन गरे । पहिला ब्याटिङबाट नटआउट ५३ रन बनाएका उनले बलिङमा ४ विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछाने र सागर ढकालले दुई दुई विकेट लिए भने कमलसिंह ऐरीले एक विकेट लिए । श्रीलंकाका एक ब्याटर रनआउट भएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालका लागि ४ ब्याटरले अर्धशत बनाएका छन् । ओपनर कुशल भुर्तेल, आसिफ शेख, मध्यक्रमका ब्याटर रोहित पौडेल र अन्तिममा करण केसीले अर्धशतक बनाए ।

भुर्तेलले ५७ रन बनाए भने शेखले ५२ रन बनाए । यस्तै रोहितकुमार पौडेलले ७२ रन बनाउँदा केसीले नटआउट ५३ रन बनाए । कमलसिंह ऐरी ४५ रनमा नटआउट रहे । आरिफ शेखले ३५ रन बनाउँदा बिनोद भण्डारी ३,  पवन सर्राफ ३ र भीम सार्की २ रनमा आउट भए ।

नेपालले श्रीलंकामा रहँदा ४ वटा अभ्यास खेल खेल्ने तय भएको थियो । तीमध्ये ३ खेल भइसेका छन् । तीनै खेलमा नेपाल विजयी भएको छ । अब नेपालले एक खेल खेल्न बाँकी छ ।

यूएईमा हुने विश्व क्रिकेट लिग २ को तयारीका लागि नेपाल श्रीलंका पुगेको हो ।


लोकप्रिय छुटाउनुभयो कि ?